नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न स्थानका ६८ हेक्टर खाली जमिनमा विभिन्न जातका विरुवा रोपण गरेको छ । गत आर्थिक वर्ष ०८०–८१ मा उक्त सङ्ख्यामा वृक्षरोपण गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा जिल्लाका विभिन्न सामुदायिक वनका ६८.३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार विरुवा लगाइएको बताए । उनका अनुसार एक हेक्टर जमिनमा एक हजार ६ सयका दरले वृक्षरोपण गरिएको हो ।
कृषि वन तथा वृहत्तर हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत गौरी सामुदायिक वनक्षेत्रको ४.०० हेक्टर, जलहन सामुदायिक वनक्षेत्रको २२.००, जलनधारा सामनुदायिक वनक्षेत्रको १०.००, भुवर भवानी सामुदायिक वनक्षेत्रको ३.८१ र सिद्धेश्वर सामुदायिक वनक्षेत्रको ७.५३ हेक्टर गरी ४७.३४ हेक्टर खाली जमिनमा उक्त विरुवाहरु लगाइएको सूचना अधिकारी रोकाले जानकारी दिए ।
त्यसैगरी, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी मितेरी सामुदायिक वनको ११.०० हेक्टर र समय भवानी सामुदायिक वनको ५ हेक्टर गरी १६ हेक्टर जग्गामा वृक्षारोपण गरिएको छ । वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पोखरा माता सामुदायिक वन क्षेत्रको १३ हेक्टर खाली जमिनमा तारबार गरिएको र ५ हेक्टर जमिनमा वृक्षरोपण गरिएको सूचना अधिकारी रोकाले जानकारी दिए ।
उक्त खाली जमिनमा खयर, असना, मौवा, जामुन, बर्रौ, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राजवृक्षलगायतका विरुवा लगाइएको रोकाले जानकारी दिए । ६८.३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार विरुवा लगाउँदा विरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्नमा ६९ लाख ८० हजार रुपैयाँ खर्च भएको रोकाले बताए ।
डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष ०७९–०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार विरुवा रोपण गरेको थियो । डिभिजन वन कार्यालयले बर्षेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगर लगायतका खाली जग्गा भएका क्षेत्रहरुको पहिचान गरी लाखौं विरुवाहरु लगाउँदै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार