काठमाण्डौ : सन् २०१४ र त्यसको १० वर्षपछि सन् २०२४ मा गरी दुई पटक टी–२० विश्वकप खेलेको नेपाल अहिले फेरि विश्वकप छनोटको तयारीमा जुटेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार मात्र आइसिसी टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि भारत जाने २० सदस्यीय खेलाडीको सुची तयार गरेको छ ।
क्यानले विश्वकप छनोट लक्षित भारतको बैंगलोरुमा सहभागी हुने दोस्रो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो । बैंगलोरु जाने टोलीमा अनुभवी खेलाडीभन्दा नयाँलाई प्राथमिकतामा राखिएको छ ।
नेपालले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बैंगलोरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा साउन ५ देखि १८ गतेसम्म प्रशिक्षण गर्नेछ ।
अष्ट्रेलियाका प्रशिक्षक स्टुअर्ट लको आगमनसँगै नेपाली टोलीको प्रदर्शनमा समेत उल्लेख्य सुधार आएको छ । विशेष गरी नेपाली टोलीको ब्याटिङमा सुधार भएको छ ।
सन् २०२६ मा भारत र श्रीलङ्काल संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहनेछ । हालसम्म १५ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन् ।
अब एसिया र अफ्रिका महादेशबाट पाँच टोलीको निक्र्योल हुन बाँकी छ । एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ ।
एसियाली छनोट खेलमा नौ टोलीबिच प्रतिस्पर्धा हुनेछ । सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कुवेत र जापान रहेको छ ।
यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार रहेको छ । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समओले रहेको छ ।
सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् । छनोट खेलअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ । त्यहाँ नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।
यस्तै अफ्रिकाको छनोट आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जिम्बावेमा हुनेछ । अफ्रिकाबाट छनोटको दावेदार जिम्बावे र नामिबियासहित युगान्डा, तान्जेनिया, नाइजेरिया, नामिबिया, मालवी, केन्या र बोत्सवाना गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा बाँडिएको छ । समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
विश्वकप आयोजक भारत र श्रीलङ्का आयोजकका हिसावले सिधै छनोट भएका छन् । थप आठ टोली अघिल्लो विश्वकपको सुपर आठमामा पुगेर सिधै छनोट भएका हुन् ।
जसमा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अमेरिका, अफगानिस्तान र बङगलादेश रहेको छ । यस्तै आइसिसीको वरीयताको आधारमा पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड विश्वकपमा छनोट भएका छन् । यद्यपी यी तीन टोली अघिल्लो विश्वकपको सुपर आठमा रहन सकेका थिएनन् । यस्तै विश्वकपमा युरोपबाट नेदरल्यान्ड्सले विजेता र इटालीले उपविजेता बन्दै विश्वकपमा स्थान पक्का गरेको छ । इटालीले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । अमेरिकी छनोटबाट क्यानडाले विश्वकपमा स्थान पक्का गरेको छ ।
सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपमा पहिलो पटक २० टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि विश्वकपमा सन् २०१२ सम्म १२ र सन् २०१४ देखि २०२२ समम १६ टोलीले प्रतिस्पर्धा गर्दे आएका थिए । सहभागी संख्या बढेसँगै अबको विश्वकपमा ५५ खेल हुनेछ ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । फेरि सुपर आठमा पुेका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
हालसमम भारत, वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई दुई पटक विश्वकपको उपाधि जितेका छन् । पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले एक एक पटक उपनधि चुमेका छन् ।
यस्तै पाकिस्तान र श्रीलङ्का दुई पटक तथा अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका एक एक पटक उपविजेता बनेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार