डडेलधुरा : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सिउँडीफल (ड्र्यागन फ्रुट) को बगैँचा डडेलधुराको चुरे पर्वतमा स्थापना भएको छ । आलिताल गाउँपालिका–४, चुडापानीमा रहेको बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको छ ।
स्थानीय कर्णबहादुर बोहोराले यसअघि दुई सय बिरुवाबाट यसै वडाको जालटुडामा ड्र्यागन फलको खेती थालेका थिए । उनले रोपेका बिरुवाले डेढ वर्षमै फल दिन सुरु गरेपछि यस वर्ष बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्र डडेलधुराका कार्यालय प्रमुख नरेन्द्र पनेरूले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा कृषि ज्ञान केन्द्र डडेलधुराले किसान कर्णबहादुर बोहोरालाई पाँच सय बिरुवा, थाँक्रा र मलमा सहयोग गरेको छ । पहाडी जिल्लामै ठुलो र नमुना बगैँचा स्थापना गर्ने लक्ष्यसाथ तीन लाख ६२ हजार रुपैयाँ सहयोग गरेको उनले बताए । बाँझो जमिनमा १० लाख रुपैयाँ खर्च गरी कलश कृषि पशुपन्छी तथा नर्सरी बगैँचा स्थापना गरिएको उनले जानकारी दिए ।
ड्र्यागन फल र बिरुवा बाहिरी जिल्लामा निर्यात गर्ने मुख्य उद्देश्य रहेको कार्यालय प्रमुख पनेरूको भनाइ छ । ड्र्यागन फल नवीनतम भएको र यसलाई उपभोक्ताले खोजी खोजी खाने भएकाले नमुना बगैँचा बनाउने कृषि ज्ञान केन्द्रको योजना रहेको उनले बताए ।
उनका अनुसार नमुना प्रदर्शनका लागि अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकाका करिब २० जना कृषकले खेती गरिरहेका छन् । बोहोराले अढाई वर्षपहिले रोपेका दुई सय बिरुवाले गत वर्षदेखि नै फल दिन सुरु गरेको र यस वर्ष करिब २० क्विन्टल फल्ने अनुमान गरे ।
एउटा बोटमा एक वर्षमा २० किलो जति फल्ने उनको भनाइ छ । जेठदेखि कात्तिकसम्म ड्र्यागन फल्ने र एउटा बिरुवामा १८औँ लटसम्म फल लाग्ने उनले बताए । एउटा दाना पाँच सयदेखि छ सय ग्रामसम्म तौल भएको फलेको उनले सुनाए ।
गत वर्ष प्रतिकेजी चार सय रुपैयाँका दरले बेचेको बताउँदै उनले प्रतिकेजी एक सय रुपैयाँ पाए पनि किसानलाई घाटा नहुने उल्लेख गरे । उनले सी रेड जातको ड्र्यागन फ्रुट रोपेको जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार