Listen LIVE

लागुऔषधविरुद्धको दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी

नेपालगञ्ज : ३९औँ लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा सचेतनामूलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँके तथा नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् लागुऔषधविरुद्ध क्रियाशील विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा शुक्रबार बिहान प्रभातफेरी आयोजना गरिएको हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जयसपुरदेखि जमुनाहा नाकासम्म सचेतनामूलक प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरीपछि जमुनाहा नाकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षता तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले लागुऔषधको समस्या अहिले घरघरको दशा बनेको उल्लेख गर्दै यो समस्या कुनै एक व्यक्ति वा परिवारको मात्र नभई सम्पूर्ण समाजको साझा चुनौती भएको उल्लेख गरे । यसको नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय, अभिभावक, विद्यालय तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको विष्टको भनाइ छ । उनले युवालाई सकारात्मक सोच, सीप र रोजगारीसँग जोड्न सके लागुऔषधको जोखिम न्यूनीकरण गर्न सकिने बताए । 

प्रमुख जिल्ला अधिकारी तामाङले लागुऔषध नियन्त्रणमा कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए । सीमावर्ती क्षेत्र भएकाले बाँकेमा लागुऔषध ओसारपसारको चुनौती उच्च रहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै निकायबीच समन्वय र सूचनाको आदानप्रदानलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । 

उनले युवालाई लागुऔषधबाट टाढा राख्न परिवार, विद्यालय र समुदायको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । लागुऔषधको आपूर्ति सञ्जाल तोड्न प्रशासन निर्ममतापूर्वक प्रस्तुत भइरहेको उनको भनाई छ । उनले बाँकेमा लागुऔषधको प्रयोग र कारोबारको ग्राफ उच्च रहेको उल्लेख गरे । 

लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले समाज लागुऔषधको दलदलमा फस्दै गएको उल्लेख गर्दै यो दुष्चक्रबाट निस्किन साझा संकल्प आवश्यक रहेकोमा जोड दिए । नयाँ नयाँ नाम र तरिकाले लागुऔषधको प्रयोग बढेको उनको भनाई छ । कार्यक्रम सञ्चालन लागूऔषध विरुद्धकी अभियन्ता इन्दिरा जिसी रावलले गरेकी थिइन् । कार्यक्रममा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

हरेक वर्ष जुन २६ मा मनाइने लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस वर्ष पनि बाँकेमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएका छन् ।

प्रतिक्रिया