दाङ : दाङको घोराही उपमहानगरपालिका–१५, काठेकोहल निवासी विष्णु श्रेष्ठ मौरीपालन व्यवसायी हुन् । कम मेहनतमा राम्रो आम्दानी लिन सकिने मौरीपालन व्यवसायसँग जोडिएका श्रेष्ठले मौरीपालनलाई मह उत्पादनसँग जोडेर व्यवसाय गर्दै आएका छन् ।
२०५१ सालमा ४२ घार मौरी ल्याएर व्यावसायिक उत्पादनमा लागेका उनले अहिले राम्रो आम्दानी गर्दै आएका छन् । उनले अहिले १५० घार मौरी छन् भने मह प्रशोधन उद्योगसमेत स्थापना गरेर मह खरिदबिक्रीको समेत कारोबार गर्दै आएका छन् । साथै उनले मौरीपालक किसानलाई चाहिने मौरीका घार, मदानी, आधार चाकासमेत बनाउँदै बिक्री गर्ने गरेको बताउँछन् । उनका अनुसार दाङ जिल्लामा चिउरी, रुदेलो, तोरी र गोरक्ष बुटीको मह उत्पादन हुने भएकाले मौरीपालनका लागि उपयुक्त मानिन्छ । यसरी उत्पादन गरिएको मह घोराही र काठमाडौँबाट बिक्री गरेको श्रेष्ठले बताए ।
स्वदेशमै राम्रो उत्पादन भए पनि बाहिरबाट आउने महका कारण व्यवसायी समस्यामा पर्ने गरेको भन्दै व्यवसायी श्रेष्ठ भन्छन, “चार प्रकारका मह अहिले गोदाममै छन् । बिक्रीका लागि राम्रो बजारको खोजीमा छौँ । भारतबाट आउने मह रोकिने हो भने यहाँको उत्पादनले राम्रो बजार पाउने थियो ।” मौरीपालन व्यवसायबाट वार्षिक १० लाख बढीको कारोबार गर्ने गरे पनि पछिल्लो समय भारतीय महका कारण समस्या परेको बताउँछन् । घोराही उपमहानगरपालिका–४, डाँडागाउँ निवासी भीमकान्त देवकोटा विगत २२ वर्षदेखि मौरीपालनमा जोडिएका छन् । मौरीपालनबाट परिचय मात्र स्थापित भएको छैन पारिवारिक अवस्थामा समेत सुधार आएको छ ।
मौरीपालन व्यवसायबाट घाटा खान नपरेको भन्दै उनले भने, “कोरोनाको समयमा बाहिर जानै नपाउँदा मौरीपालन व्यवसायमा समस्या परेको थियो । त्यो समस्या अहिले हट्दै गएर पुरानै लयमा फर्किने आशा लागेको छ ।”
मौरी जोन सञ्चालक समितिको अध्यक्षसमेत रहेका देवकोटाले भारतीय बजारबाट भित्रिने मह रोक्न सक्ने र नक्कली महको कारोबारलाई निरुत्साहित गर्न सक्ने किसानले उत्पादन गरेको स्थानीय महले राम्रो बजार पाउने बताउनुहुन्छ । १५० घार मौरी पालेका देवकाटाले भने, “घार सङ्ख्या बढाउने योजना हो तर अहिले बजार सन्तोषजनक छैन । त्यही भएर खुम्चिनुपर्ने अवस्था छ ।”
सरकारले बजारीकरणमा ध्यान नदिँदा व्यावसायिक रूपमा लाग्ने व्यवसायीलाई समस्या भएको बताउँछन् । उनका अनुसार दाङ जिल्लामा २० हजारभन्दा बढी घार छन् । करिब ३० मेट्रिक टन मह प्रशोधन भइरहेको छ । दाङको सबैभन्दा बढी मौरीपालन घोराही उपमहानगरपालिकामा मात्रै पाँच हजारभन्दा बढी घार रहेका छन् ।
दाङमा आर्थिक वर्ष २०७६÷७७ बाट मौरी जोन कार्यक्रम लागु भएको हो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा मौरी जोन कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ लमहीमार्फत कार्यक्रम लागु छ । मौरी जोन कार्यक्रम लागु भएपछि महको उत्पादन र उत्पादकत्वमा वृद्धि भएको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझा बताउँछन् ।
मौरी तथा महजन्य उत्पादनको खरिदबिक्री, मौरीपालन र मह उत्पादनको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख ओझाले बताए ।
पछिल्लो समय जिल्लामा महको उत्पादन बढेको भन्दै उनले भने, “दाङ मौरी र मह उत्पादनका लागि राम्रो जिल्लाका रूपमा छ । यसलाई अवसरका रूपमा किसानले लिनु पर्छ ।”
मह गुणस्तरीय भएकाले यसको बजारीकरणका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउँछन् । आगामी वर्ष महलाई बजारीकरण गर्न हनी फेस्टिभल कार्यक्रम प्रस्ताव गरिएको कृषि अर्थविज्ञ लामिछाने बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार