बर्दिया : धानको ब्याड राख्ने समय घर्किसक्दा पनि रासायनिक मल नपाएपछि बर्दियाको किसानले रासायनिक मलबिना नै धानको ब्याड राखेका छन् ।
मलको लागि दिनभरी धाउँदा समेत मल नपाएपछि उनीहरूले मलबिना नै धानको ब्याड राखेका हुन् । गेरुवा गाउँपालिका –६ नौरंगाका ४५ वर्षीय सौनु थारूले यस वर्ष धान ब्याड रासायनिक मलबिना नै राखे ।
मल खोज्न सहकारीमा गए पनि रित्तो हात फर्किएको उनले बताए । 'अहिले मल छैन आउँछ कि आउन्न भर छैन भनेÆ उनले भने, æकेही दिन कुरेँ, मल नआउने नै भएपछि मलबिना नै ब्याड राखें ।'
गत वर्ष एक बोरा मल तीन जनाले बाँडेको बताउँदै रासायनिक मलको अभावमा मेहनतअनुसारको खेती नहुने गरेको गुनासो गरे । मरी–मरी दुःख गर्यो समयमा मल पाइदैन भनेजति खेती हुँदैन, उनले दुखेसो पोखे । ७ कठ्ठा मात्र जग्गा भएका सौनुले अरुको जग्गा ठेक्का र अधिँया गरेर साढे चार विघा जग्गामा खेती गर्छन् ।
एक विघामा एक बोरा मल हाले पनि ५ बोरा जति डिएपी र १० बोरा युरिया मल चाहिने बताउँदै उनले भने, 'एक बोरा तीन जनाले बाँडेर ल्याएपछि कसरी खेती हुन्छ ।' बढैयाताल गाउँपालिका –६ का जगतु थारूले पनि यस वर्ष मल नपाएर मलबिना नै ब्याड राखेको दुखेसो गरे । यस वर्ष मल आउने कुरामा ढुक्क हुन नसकेको उनले बताए । मल आएपनि एक बोरा कति जनाले बाँड्नु पर्ने हो, उनले भने, 'समयमा चाहियजति मल पाए किसानलाई ठुलो राहत हुने थियो ।'
मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनि लिमिटेड शाखा कार्यालय बर्दियाका प्रबन्धक दिनेश खनालले अहिले गोदाममा युरिया र पोटास भए पनि डिएपी एकदमै कम भएको बताए । हाल एक हजार दुईसय ४४ मेट्रिक टन युरिया र तीनसय ५२ मेट्रिक टन डिएपी गोदाममा रहेको बताउँदै बिक्रीका लागि प्रदेशबाट आदेश नआएको बताए ।
डिएपी त बाँड्न नसकिने मात्रामा रहेको बताउँदै यस वर्ष युरिया ५ हजार ५०० मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र एकसय मेट्रिक टन पोटास बिक्री गरिएको बताए ।
यता साल्ट ट्रेडिङ्क कर्पोरेसन गुलरियाका प्रमुख प्रविणजंग शाहकाले मागको ३० प्रतिशत मात्र कर्पोरेसनले वितरण गर्ने व्यवस्था भएको बताए । उनले मल भैरहवामा आएको बताउँदै केही दिनमा बर्दिया आउने बताए ।
बर्दिया जिल्लामा बार्षिक १२ हजार मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पोटास आवश्यक पर्ने अनुमान गरिएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका कृषि प्रसार अधिकृत सेतीराम बबालका अनुसार धानको लागि मात्र युरिया नौ हजार पाँचसय १९ मेट्रिक टन, डिएपी तीन हजार दुई सय ५६ मेट्रिक टन र पोटास दुई हजार पाँचसय मेट्रिक टन आवश्यक पर्छ । बर्दियामा ५० प्रतिशत मात्र रासायनिक मलको आपूर्ति हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार