नेपालगञ्ज : बाँके जिल्लामा गत एक वर्षको अवधिमा ८१० वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा परेर ६० जनाको मृत्यु भएको छ भने एक हजार तीन सय जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक कनकबहादुर शाहीका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका विभिन्न स्थानमा भएका ८१० वटा सवारी दुर्घटनामा ६० जनाको मृत्यु र एक हजार तीन सय जना घाइते भएका हुन् । १७५ जना गम्भीर घाइते भएको र एक हजार १२१ जना सामान्य घाइते भएका थिए ।
सोही अवधिमा जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा २३ हजार ४५२ सवारी साधनलाई कारबाही गरिएको छ । कारबाहीबाट एक करोड ९५ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरिएको शाहीले बताए ।
कारबाही गरिएकामध्ये मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ८६५ जना रहेको र तीव्र गतिमा सवारी चलाउने ५८० जना रहेको उनले जानकारी दिए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गराउन ट्राफिकले एक हजार एक पटक ट्राफिक सचेतना कार्यक्रम चलाएको र ती कार्यक्रमबाट ९० हजार चालक र विद्यार्थी लाभान्वित भएको प्रहरीको भनाइ छ ।
ट्राफिकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा पनि ८४ वटा सवारी दुर्घटना भएका छन् जसमा परेर तीन जनाको मृत्यु भएको छ भने १४२ जना घाइते भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार