नेपालगञ्ज : केही वर्षअघिसम्म उराठलाग्दो, सुनसान र उपयोगविहीन देखिने बाँकेको सिधनियाँघाटस्थित राप्ती नदीको बगर अहिले लटरम्म तरबुजाले ढाकिएको छ । तीन वर्षअघिदेखि भारतका विभिन्न स्थानबाट आएका किसानले श्रम र सिपको प्रयोग गरेर सो बगरमा तरबुजा उत्पादन गरी लाखौँ आम्दानी गर्न थालेका छन् ।
भारत उत्तरप्रदेशको बागपत जिल्लाका पाँच भाइ र तिनका आफन्त गरेर १० परिवारले तीन वर्षदेखि सिधनियाँघाटआसपास तरबुजा खेती शुरु गरेका थिए ।
नदीवारि डुडुवा गाउँपालिका कम्दीका स्थानीय राकेशकुमार मिश्रले सिँचाइ, बिउ, मल तथा दिनरातको श्रममार्फत गरिएको लगानीले बगरलाई हराभरा बनाएको बताए ।
हाल राप्ती बगरको ११० बिघा जमिनमा करिब ७० लाख रुपैयाँ लगानी गरी तरबुजा खेती गरिएको भारत बागपतका किसान मोहम्मद बसिरले जानकारी दिए । यस वर्ष सो क्षेत्रबाट करिब डेढ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरे । नेपालीले खेती नगरेर बाँझो छाडेको बगरमा आफूहरूले खेती गरिरहेको बताए ।
भारत बागपतका मोहम्मद बसिर, मोहम्मद सब्बिर, मोहम्मद युसुफ, मोहम्मद सफिक, मोहम्मद सइद, मोहम्मद समिम र उनीहरूका भिनाजु तथा अन्य आफन्त गरी १० परिवारले बगरको करिब १५० कच्चा बिघा र बगरसँगै जोडिएको करिब ८० बिघा निजी जग्गामा तरबुजा खेती गर्दै आएका छन् ।
भारतीय बजारबाट तरबुजा खरिद गरेर नेपालमा बिक्री गर्दै आएका व्यापारीले राप्ती बगरमा यसको उच्च सम्भावना रहेको सुझाव दिएपछि आफूहरूले नेपाल आएर खेती सुरु गरेको उनीहरूको भनाइछ ।
भारतीय किसानले खेती सुरु गरेको देखेर अहिले धेरै नेपाली किसानले पनि बगरमा तरकारी, सखरखण्ड तथा तरबुजा उत्पादन शुरु गरिसकेका छन् । सो बगरमा अहिले डुडुवाको हल्कारापुर्वा र राप्ती सोनारीको फत्तेपुरका किसानले पनि तरकारी खेती गरिरहेको हल्कारापुर्वाका किसान बढैलाल यादवले बताए ।
राप्ती नदीको बगरमा अहिले तरबुजा खरिद गर्नेको भिड लाग्ने गरेको छ । राप्ती पुलको किनारमा तरबुजाको रास लगाएर बसेका भारतीयसँग नेपालगञ्जबाट गाडी लिएर खरिद गर्न जानेको लर्को लाग्ने गरेको छ भने हुलाकी सडक प्रयोगकर्ताले पनि गाडी रोकेर तरबुजा किनेर लैजाने गरेका छन् ।
नेपालगञ्जबाट हुलाकी रोड हुँदै राप्ती सोनारी, नरैनापुर तथा दाङ, बुटवल, काठमाडौँ जाने यात्रु पनि राप्ती नदीको पुल पारी बगरमा बेच्न राखिएका तरबुजा लिएर जाने गरेको भारतीय किसान मोहम्मद सब्बिरले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार