Listen LIVE

बदाम खेतीबाट आम्दानी गर्दै डुडुवा ६ का किसान

यदुराज मिश्र/नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नंं. ६ हिरमिनियाका किसान बदाम खेतीबाट आम्दानी गरिरहेका छन् । नगदे बालीको रुपमा रहेको बदाम तीन महिनामै तयार हुने भएकोले बदाम खेतीबाट राम्रो आम्दानी हुने गरेको किसानहरु बताउँछन् ।

धान तथा अन्य खेती नहुने बलौटे माटो भएको खेतमा वर्षेनी बदाम खेती गर्दै आएको डुडुवा–६ हिरमिनियाका किसान लच्छुप्रसाद बर्माको भनाइ छ । बदाम खेतीबाट आफ्नो गर्जो टार्दै आएका उनले बदाम खेती आफ्ना लागि नगदे बालिको रुपमा रहेको बताए ।

अन्य बालीभन्दा बदाम खेतीबाट राम्रो आम्दानी हुने भएकोले बदाम खेती गर्दै आएको डुडुवा कै कमला प्रसाद मौर्यको भनाई छ । सात कठ्ठामा वर्षेनी बदाम खेती गर्दै आएका उनले खेतमै व्यापारी बदाम किन्न आउने हुँदा बिक्रीको चिन्ता नभएको बताए । कठ्ठामा एकदेखि डेढ क्विन्टलसम्म बदाम उत्पादन हुने गरेको भन्दै मौर्यले तुरुन्तै खनेको बदाम पाँच हजार रुपैयाँ क्विन्टलमा बिक्री हुने गरेको जानकारी दिए ।

बाँकेमा बदाम खेती गर्ने किसानले उत्पादन गरेको बदाम किसानकै खेतबारीबाट नगदमै खरिद बिक्री हुने गर्छ । बदाम खनेको खेतमै व्यापारीले नगदमै किन्दा उनीहरुका लागि नगदेबालीको रुपमा बदाम खेती रहँदै आएको छ । बलौटे माटो, नदी र खोलाको किनाराको सदुपयोग गर्दै बाँकेका किसानहरुले बदाम खेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि–अर्थ निर्देशक डा. विनोद घिमिरेले बाँकेमा नगदे बालीको रुपमा बदाम खेती करिव ६ सय ५१ हेक्टरमा गरिने जानकारी दिए । खोलाको किनार, बलौटे माटोमा यसको खेती गर्ने गरिएको छ । उनले ८ सय ५ मेट्रिक टनसम्म वर्षेनी बदाम उत्पादन हुने गरेको जानकारी दिए ।

बदाम खेतीमा झार र किराको कारण भने यहाँका किसानहरुलाई बेला बेलामा समस्या परिरहन्छ ।

प्रतिक्रिया