Listen LIVE

बाँकेमा निःशुल्क कानूनी सहायता प्रभावकारी बन्दै

नेपालगञ्ज : बाँकेमा कानूनी सहायता समितिमार्फत निःशुल्क कानूनी सेवा प्रभावकारी रूपमा प्रदान हुँदै आएको छ । सीमित स्रोत–साधनका बाबजुद समितिले पछिल्लो चार महिनामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

समितिका अनुसार चार महिनाको अवधिमा दर्ता भएका ३९ मुद्दा अनुमोदन गरिएको छ । गत आर्थिक वर्षबाट सरेका ९९ मुद्दा र चालु आर्थिक वर्षमा दर्ता भएका १ सय ४ मुद्दासहित कुल २ सय ३ मुद्दामा निःशुल्क कानूनी सहायता उपलब्ध गराइएको छ ।

तीमध्ये ४७ मुद्दाको फैसला भइसकेको छ भने बाँकी १ सय ५६ मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन् । समितिका अध्यक्ष तथा उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जका सहन्यायाधिवक्ता यदुनाथ शर्माका अनुसार सम्बन्ध विच्छेद, खाना खर्च, अंश, घरेलु हिंसा तथा बहुविवाहजस्ता संवेदनशील प्रकृतिका मुद्दामा विशेष प्राथमिकताका साथ सेवा प्रदान गरिएको छ ।

समितिले न्यून जनशक्तिमा समेत प्रभावकारी कार्यसम्पादन गरिरहेको जनाएको छ । हाल एक मात्र अधिवक्तामार्फत मुद्दाको फिराद मस्यौदा, बहस, बकपत्र तथा कानूनी परामर्शजस्ता कार्य सञ्चालन हुँदै आएका छन्, जसले सेवा प्रवाहमा चुनौती भए पनि निरन्तरता कायम राखेको छ ।

प्रतिक्रिया