बर्दिया : गुलरिया नगरपालिका–८ का ४५ जनाले सर्जु नदीको बगरमा सामूहिक तरकारी खेती सुरु गरेका छन् ।
उनीहरुले लहरे तथा बगरमा फष्टाउने तरकारी खेती गरेका हुन् । गुलरिया–८ स्थित सर्जु नदी टपराका शिव कृषि समूह र नमुना महिला समूहमा आवद्धले सामूहिक रुपमा बगर खेती सुरु गरेका हुन् ।
ती समूहमा आवद्ध २० जनाले जग्गा भाडामा लिएर र २५ जनाले आफ्नै गरी ३ बिघामा तरबुजा, लौका, फर्सी, काँक्रा, बोडी, करेला र भिन्डी रोपेका छन् । लहरे तरकारी खेती सुरु गरेपछि फुर्सदको सदुपयोग भएको गुलरिया–८ की सुनिता चौधरीले बताइन् । ‘आजभोलि तरकारीमा अत्यधिक विषादी प्रयोग भइरहेको समाचार सुन्दा डर त लाग्छ,’ उनले भनिन्, ‘तर, आफ्नै बारी नहुँदा किनेर खानुपर्ने स्थिती छ ।’
गुलरिया–८ की लक्ष्मी सुनार बाडियाले संघसंस्थाले बीउबिजनमा सहयोग गरेपछि जग्गा भाडामा लिएर लहरे तरकारी तरकारी बाली लगाएको बताइन् । आफैले अर्गानिक तरकारी उत्पादन गरेर खाने र बढी भए बिक्री गर्ने सोच बनाएको उनले बताइन् । गत कात्तिकमा लगाएको आलु बेचेर अहिले आम्दानी गरिरहेको गुलरिया–८ आशापुरका बालकराम लोधले बताए । ‘आलु खनेकै खेतमा अहिले लहरे तरकारी लगाइरहेको छु,’ उनले भने, ‘वैसाखसम्म लहरे तरकारी बाली फलाएर आम्दानी गर्ने योजना छ ।’
विपन्नको जीविकोपार्जन सुधार र व्यावसायिक बनाउने उद्देश्यले कारितास नेपाल इटालिनाको सहयोग, गुलरिया नगरपालिकाको समन्वय र कारितास नेपाल फिल्ड कार्यालयले तरकारी खेतीमा सहयोग गरेका छन् ।
बाढी प्रभावित घर–परिवारका लागि आपतकालीन जीविकोपार्जन तथा सुरक्षित आवास निर्माण परियोजनाको सहयोगमा यहाँका स्थानीयलाई निःशुल्कमा बिउबिजनलगायत आवश्यक तालिम र कृषि सामग्री उपलब्ध गराई कृषितर्फ प्रोत्साहन गरिएको सामाजिक परिचालक पूजा यादवले बताइन् ।
बाढी प्रभावित विपन्न परिवारको आयस्तर वृद्धि गर्न २ लाख ५० हजार बराबरको बीउ, मल, खेत घेरबार गर्न जाली र आवश्यक कृषि सामग्री उपलब्ध गराइएको कारितास नेपालका कार्यक्रम संयोजक नरेन्द्र केसीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार