Listen LIVE

कृषि बजारले देखाएको स्वरोजगारको बाटो

रुपन्देही : रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा न–९ निवासी इन्दु परियार अहिले ४० वर्ष पुगिन् । जीवनको ४ दशक पुग्दा इन्दुको जीवनमा परिवर्तन आएको छ । पहिले फुर्सदमा हुने इन्दु बिगत २ महिनादेखि व्यस्त छिन् । 

इन्दुको जीवन शैली यसरी परिवर्तन हुनुको प्रमुख कारण भैरहवामा नयाँ सञ्चालनमा आएको कृषि बजार हो । गत साउन १२ गते देखि इन्दु दैनिक जस्तो बजारमा पुगेर तरकारी बिक्री गर्दे आएकी छन् । 

इन्दुको ६ जनाको परिवार रहेको छ । अहिले व्यवसायीक भए सँगै नौलो अनुभव भएको बताउँदै परियारले भनिन,“ जीवनमा कहिल्यै व्यवसायीक भएर आयआर्जनमा जोडिएन, तर अब व्यावसायिक रुपमा यहाँ तरकारी ल्याएर बिक्री वितरण गर्छु । तर अहिले पनि हामीलाई तालीमको आवश्यकता छ, आशावादी छु दिन कसो नफेरिएला । ”

इन्दु जस्तै सिद्धार्थनगर नगरपालिका वडा न–९ निवासी ४३ बर्षिया तुलसी विश्वकर्मा पनि साउन १२ गते पूर्व फुर्सदमै थिइन् । घरकै काममा बढी व्यस्त तुलसीको अधिकांश समय बालबच्चाको हेरचाहमा बित्यो तर पछिल्लो समय भने आर्थिक रूपले सक्षम हुनुपर्छ भन्ने उनलाई लाग्यो । र भैरहवा कृषि बजार तुलसीको लागि रोजाइ बन्न पुग्यो । विश्वकर्मा भन्छिन,“घर भित्र बसेर यत्तिका समय बितिगयो, बजारमा नयाँ मान्छे, नयाँ वातावरण र आर्थिक आयआर्जन सबै हुँदो रहेछ, अहिले परिवारको पनि राम्रै साथ छ, बजार सञ्चालन भयो भने, हामी किसानहरूबाट नै खरिद गरेर उपभोक्तालाई समेत तरकारीको मूल्य कम हुने गरी तयारी थालेका छौ ।”

इन्दु र तुलसी जस्तै ३६ वर्षीय गीता विश्वकर्माले पनि स्वरोजगारको बाटो तय गरिन् ।  श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिएपछि उनी बजारमा तरकारी बेच्ने निर्णय गरिन् । जीवनको लामो समय घर गृहिणीको रुपमा रहेकी विश्वकर्माको स्वरोजगारको बाटो सहज भने थिएन । विश्वकर्मा भन्छिन, आर्थिक निर्भरता हटाउने प्रमुख उपाय भनेकै, रोजगारी सँग जोडिनु रहेछ तर आफैले तरकारी खेती गरेर उब्जनी गराउन पाए, अझ बढी आम्दानी हुन्थ्यो उपभोक्ताले पनि निकै कम रकम तिर्नु पर्थ्यो अब यही विषय उठाउन पहल गर्छौ । 

भैरहवा कृषि बजारका अध्यक्ष चन्दु कहारले, व्यापारीहरूलाई प्रोत्साहन गर्नको लागि दैनिकी मात्र २० रुपैयाँको दर राखिएको बताए । करिब साढे पाँच कठ्ठा क्षेत्रफलमा रहेको उक्त जमिनमा २६ वटा स्टलहरू रहेको जानकारी दिए । चन्दु कहारले भने बजारले स्थानीयहरूलाई समेत व्यावसायिक बन्न प्रोत्साहित गरेको छ । रासायन मुक्त तरकारी बेच्नको लागि प्रोत्साहित गरिएको जानकारी दिए । उक्त बजार वर्षभरी नियमित रुपमा सञ्चालन हुने कहारको भनाई छ । 

रुपन्देही जिल्लामा जम्मा १ सय २१ वटा हाटबजारहरू रहेका छन् भने केही दैनिक रुपमा लाग्ने बजार छन् । यसरी साना बजारहरूले आम सर्वसाधारणहरूलाई कम मूल्यमा खाद्य सामाग्रीमा पहुँच बढाएको छ भने अर्को तर्फ महिलाहरूलाई व्यावसायिक बन्न प्रोत्साहन समेत गरेको छ । यसरी बजारमा तरकारी व्यवसायी गर्ने व्यवसायीहरूलाई तरकारी खेती गर्नको लागि प्रोत्साहन गर्न सके, बिषादीमुक्त, कम रकममा उत्पादन भई उपभोक्तालाई समेत फाइदा हुने थियो भने अर्को तर्फ स्वरोजगारी तर्फ मानिसहरू जोडिएर, आर्थिक समुन्नति समेत हुने थियो ।

प्रतिक्रिया