Listen LIVE

असिना पानीले बाली नष्ट, किसान चिन्तित

रौतहट : शुक्रबार मध्यरातमा आएको हावाहुरीसहितको असिनापानीले खाद्यान्न तथा तरकारी बाली नष्टहुँदा रौतहटको उत्तरीक्षेत्रका किसान चिन्तित भएका छन् ।  

जिल्लाको उत्तरी क्षेत्रमा मात्र परेको असिनापानीले उक्त क्षेत्रका किसानको मकै, गहुँ, मसुरो र तरकारी बाली नष्टगरी क्षति गरेको हो । विशेषगरी चन्द्रपुर, गुजरा, फतुवावीजयपुर र वृन्दावन नगरपालिकाका विभिन्न वडामा लगाइएका बालीनाली नष्ट भएको छ ।

गुजरा नगरपालिका –१ का किसान हिरालाल राउतको डेठ बिघा जमिनमा लगाएको मकै पूर्णरुपमा सखाप भएको छ । यस्तै, फतुवावीजयपुरका किसान गोविन्द चौधरीको दश कठ्ठा जमिनमा लगाएको लसुन र प्याज पनि सखाप भएको छ । धेरै मेहनत गरेर रोपेको लसुन प्याज एक रातमा सखाप भएपछि चिन्ता परेको उनले बताए । 

यस्तै, चन्द्रपुर –६ का किसान तेजीलाल महतोको एक बिघा जमिनको मकै र दश कठ्ठाको गहुँ पूर्णरुपमा नष्ट भएको छ । खेत हुन्डामा लिएर लगाएको बाली एकै रातमा नष्ट हुँदा हुन्डाको रकम कसरी तिर्ने भनि उनी चिन्तित छन् । 

असिनापानीको कारण वृन्दावन –१ बलेरीका किसान प्रेमलाल पटेल, रविन्द्र पटेल र हेमन राउते समेतले नोक्सानी व्यहोर्नु परेको गुनासो गरे । प्रेमलालको दश कठ्ठा, रविन्द्रको १५ कठ्ठामा लगाएको मकै र हेमनको १५ कठ्ठाको गहुँबाली र १० कठ्ठाको मकै बालीमा क्षति पुगेको छ । 

सो क्षेत्रमा व्यावसायिक रुपमा तथा करेसाबालीमा लगाएको तरकारी बाली समेत नष्ट भएको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले जानकारी दिए । उनकाअनुसार बलेरी क्षेत्रमा मात्रै करिब पाँचसय बिघा जमिनमा लगाएको मकैबाली नष्ट भएको छ । गहुँबाली र तरकारी बालीमा पनि ठुलो क्षति पुगेको छ । 

यता, चन्द्रपुर नगरपालिकाका कृषि अधिकृत सन्दिप देवकोटाले पालिका भित्र रहेको खेतियोग्य जमिनको करिब ६० प्रतिशत भू–भागमा मकैखेती गरिएको र ३० प्रतिशत जमिनमा गहुँ र बाँकीमा तरकारी र दलहन खेती भएको बताए । उनकाअनुसार असिनाका कारण धानचमर निस्किएको र सुत्ला च्यापेका मकै पूर्णरुपमा नष्ट भएको छ । बाला लागेका र बाला निस्किन लागेको गहुँबाली समेत नष्ट भएको छ । सागसब्जी र साना बिरुवाका तरकारी बालीमा पनि क्षति गरेको छ ।

प्रतिक्रिया