Listen LIVE

व्यावसायिक भैँसी पालनमा रमाउँदै दाङका वली

दाङ : दाङको घोराही उपमहानगरपालिका–६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक भैँसी पाल्दै आएका छन् । उनले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी नामको फार्म दर्ता गरेका छन् । दुई दशक दुबईमा बसेर फर्केका व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गरेका छन् । उनले ३६  भैँसीबाट व्यवसाय सुरु गरेका हुन् । 

उनले दूध दिँदासम्म भैँसी आफै राख्ने गरेका छन् । उनले भने, “बिहान बेलुका गरी दैनिक ९६ लिटर दूध आफैले बजार पुर्याउने गरेको छु २८ लिटर दूध ७५ रुपियाँका दरले तुलसीपुर–१८ दुधरासको डेरीबाट किनेर एक सय रुपियाँमा बिक्री गर्ने गरेको छु ।” महिनाको ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाउँदा तीन लाख ४० हजार महिनामा आम्दानी हुने गरेको उनले बताए ।

आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दूध घोराही बजारका ग्राहाकलाई घरघरमा पुर्याउने गरेको उनले बताए । आफ्नो काम गर्न लाज मान्नु हुँदैन । पसिनाको कमाइ मिठो हुन्छ । उनले सबै भैँसीको बीमा गरेका छन् । भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ । एक ट्याक्टर मल चार हजार पाँच सयमा बिक्री गर्ने गरेको बताए । अलिकति जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैँसीको दूध, मल र बाख्रा बेच्दा पैसा आउँछ । गत वर्ष दूध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उनले बताए । 

बीस लाख कठ्ठाका दरले ५० लाखमा किनेको बताए । “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नु पर्दैन”उनले भने । गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस भरिभराउ छ । चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गरेका छन् । आफ्नै लगानीमा सबै खर्च गरेको उनले बताए । 

कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन उनले भने । कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उनी बताउँछन् । स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उनले बताए । व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पालेका छन् । उनीसँग १७ खसी, बोका र बाख्रा छन् । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ । त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि शुरु गरेको उनले बताए ।

प्रतिक्रिया