नेपालगञ्ज : भेरी अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढेको छ । शल्यक्रिया कक्ष र पोस्टअपरेटिभ बेड बढेसँगै शल्यक्रिया सेवा लिने बिरामीको संख्या पनि वृद्धि भएको हो । अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१ र चालु आर्थिक वर्ष २०८२ को चैतसम्म शल्यक्रियाको संख्या उल्लेख्य रुपमा बढेको छ ।
आर्थिक वर्ष २०८१ मा अस्पतालमा कुल २ हजार २०७ वटा शल्यक्रिया गरिएको थियो । जसमा १ हजार ३०० वटा जटिल, ३८९ वटा मध्यम र ५१८ वटा सामान्य शल्यक्रिया रहेका थिए । त्यसैगरी, चालु आर्थिक वर्ष २०८२ को चैतसम्म आइपुग्दा शल्यक्रियाको संख्या बढेर ३ हजार १६७ पुगेको छ ।
यस अवधिमा १ हजार ४७६ वटा जटिल, ३३८ वटा मध्यम र १ हजार ३५३ वटा सामान्य शल्यक्रिया भइसकेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताए । तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको चैतसम्ममै शल्यक्रियाको कुल संख्या करिब ९६० ले वृद्धि भएको छ ।
विशेषगरी अस्पतालमा जटिल र सामान्य खालका शल्यक्रिया बढेका छन् । तर मध्यम खालका शल्यक्रियामा भने केही कमी आएको देखिन्छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीका अनुसार गएको वैशाख २७ गतेदेखि नयाँ शल्यक्रिया कक्ष सञ्चालनमा आएको हो । ५ वटा शल्यक्रिया कक्षबाट बढाएर ७ वटा पु¥याइएको छ भने पोस्टअपरेटिभ बेड ६ बाट बढाएर १२ वटा पु¥याइएको थियो ।
…शल्यक्रिया कक्ष र पोस्टअपरेटिभ बेड करिब दोब्बरले बढाएसँगै शल्यक्रिया सेवा पनि बढेको हो डा. सुवेदीले भने–'शल्यक्रियाका लागि बिरामीले पालो कुर्नुपर्ने अवस्थालाई घटाएका छौँ ।' अहिले तीन ठाउँमा २८ वटा पोस्टअपरेटिभ बेड छन् । प्रसूति तथा स्त्रीरोग विभागमा १२, जनरलतर्फ ८ र अर्थोपेडिकतर्फ ८ गरी कुल २८ वटा पोस्टअपरेटिभ वेड रहेको उनले बताए ।
पोस्टअपरेटिभ वार्डमा नर्सिङ जनशक्ती र शल्यक्रिया कक्षामा एसिस्टेन्ट एनेस्थिया चिकित्सकको अभाव भने अस्पताललाई कायमै छ । युरोलोजी र सर्जरी जनशक्ति पनि बिरामीको चापको तुलनामा कम छ । न्यूरोसर्जन नहुँदा सेवा नै वन्द छ । सिटिस्क्यान सेवा पनि वन्द छ । सिटिस्क्यान नहुँदा न्यूरोसेवा सुचारु गर्न सक्ने अवस्था रहेको प्रमुख डा.सुवेदी बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार