Listen LIVE

६ करोड बढीको अकबरे खुर्सानी बिक्री

तानसेन : रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका किसानले यस वर्ष ६ करोड बढी मूल्यको अकबरे खुर्सानी बिक्री गरेका हुन् । 

अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्ष अघिदेखि रिव्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउराली लगायतका स्थानमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको थियो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) को सहयोगमा सुरु भएको अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खुर्सानी खेतीबाट किसानले गर्ने आम्दानी बढेको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । 

गत वर्ष चार करोडको अकबरे खुर्सानी बिक्री गरिएको थियो । उनले भने, “यस वर्ष ६ करोड बढी रुपियाँको खुर्सानी बिक्री भइसकेको छ ।’ यहाँका किसानले यो वर्ष प्रतिकिलो दुई सयदेखि पाँचसय रुपैयाँसम्म खुर्सानी बिक्री गरेका छन् । किसानले उत्पादन गरेको अकबरे खुर्सानी बिक्रीका लागि पालिकाले विभिन्न स्थानका चाउचाउ कम्पनी तथा अन्य खुर्सानी खरिद गर्ने कम्पनीसँग समन्वय गर्दै आएको छ । 

पालिकाको समन्वयमा किसानले उचित मूल्यमा अकबरे खुर्सानी बिक्री गर्दै आएको अध्यक्ष कार्कीले बताए । उनका अनुसार अहिले रिव्दीकोटका किसानले प्रतिकिलो दुईसय रुपैयाँदेखि पाँचसय रुपैयाँसम्ममा अकबरे खुर्सानी बिक्री गरिरहेका छन् । 

गाउँपालिकाले खुर्सानी खेतीका लागि निःशुल्क बीउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण र प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । अकबरे खुर्सानी खेतीले राम्रो प्रतिफल दिन थालेपछि यहाँका किसान उत्साहित बनेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खेती बिस्तार गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढेको गाउँपालिकाकी कृषि प्राविधिक प्रज्ञा लाम्टाङेले बताए । 

अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको रिव्दीकोट–३, का किसान लक्ष्मण अर्यालले बताए । उनले एक हजार पाँचसय बिरुवाबाट २० क्विन्टल अकबरे खुर्सानी बिक्री गरेको जानकारी दिए ।

प्रतिक्रिया