Listen LIVE

सुर्खेतमा किवी खेतीमा कृषकको आकर्षण

सुर्खेत : सुर्खेतमा किवी खेतीमा कृषकहरूको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको चिङ्गाड गाउँपालिका २ रहकुलका किसानहरू आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका हुन् । 

विगत सात वर्ष अघिदेखि किवी खेती सुरु गरेका कर्णबहादुर थापाले यतिबेला किवीको व्यावसायिक उत्पादन गरिरहेका छन् । उनले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री गरेर वार्षिक करिब चार लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सात रोपनी जग्गामा किवीको व्यावसायिक उत्पादन सुरु गरेको थापाले बताए । उत्पादित किवी स्थानीय बजारदेखि वीरेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँसम्म पुग्ने गरेको उनले जानकारी दिए ।

थापाको मुख्य आम्दानी यतिबेला किवी बनेको छ । यो वर्ष किवीको फल लागिरहेको छ । भदौ र असोजमा किवी पूर्ण रूपमा बिक्री वितरण गर्न योग्य हुन्छ । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष किवी लटरम्म फलेको कृषक थापाले बताए । फल पनि राम्रो लागेकाले उत्पादन बढ्ने उनको अनुमान छ । २०७४ सालबाट व्यावसायिक किवी खेती सुरु गरेको थापाले बताए । उनले थापा कृषि फर्म दर्ता गरेर व्यावसायिक किवी खेती सुरु गरेका हुन् । सुरुमा १५ वटा बिरुवाको परीक्षण सुरु गरे । थापाको बारीमा अहिले किवीका २०० बिरुवा लटरम्म फलेको छ ।

चिङ्गाड–२ रानीबास काडाँपोखरीका ४५ वर्षीय रामबहादुर हमालले लगाएको किवीको बगानमा पनि लटरम्म फल लागेका छन् । यो वर्ष फल राम्रो लागेकाले करिब साढे २० क्विन्टल किवीको उत्पादन हुने हमालको अनुमान छ । २०७३ सालबाट व्यावसायिक खेती सुरु गरेका उनको दैनिकी अहिले त्यही किवीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएका हमालले आफ्नो गाउँठाउँमा माटो सुहाउँदो फलफूल खेती थालेका हुन् । घर अगाडि–पछाडि रहेको २७ रोपनी खेतीयोग्य जमिनमा हमालले आधिकारिक रूपमा फर्म दर्ता गरेर व्यावसायिक किवी खेती गरेका छन् । गत वर्ष साढे तीन लाख रुपियाँ मूल्य बराबरको किवी बिक्री भएको थियो । यो वर्ष फल राम्रो फलेकाले उत्पादन दोब्बरले वृद्धि हुने उनको अनुमान छ ।

सरकारी अनुदानले व्यवसाय गर्न सहज भइरहेको उनको भनाइ छ । कृषि विकास निर्देशनालय सुर्खेतबाट अनुदान लिने गरेको हमालले बताए । यो वर्ष मात्र पक्की पोल र किवीका बिरुवा लगाउनका लागि एक लाख २० हजार अनुदान लिएको हमालले जानकारी दिए । सुरुवातीदेखि हालसम्म करिब नौ लाख अनुदान पाएको उनले सुनाए । दुई जना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई रोजगारीसमेत दिएका छन् ।

किवीले रोपेको तीन वर्षपछि उत्पादन दिने गरेको छ । उत्पादन भएको किवी सुर्खेत, सल्यान, नेपालगञ्ज, दैलेख लगायतका ठाउँहरूमा बिक्री हुने गरेको छ । अहिले हमालको फर्ममा ५०० किवीका बिरुवा लटरम्म फलेका छन् ।

हमालले किवी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएका छन् । तालिम लिएसँगै खेती गर्न सहज भएको हमालले बताउनुभयो । सुरुमा अन्दाजी रूपमा बिरुवा लगाएका उनले अहिले ज्ञान सिकेर व्यावसायिक रूपमा खेती गरिरहेको जानकारी दिए । १२ वटा बिरुवाबाट सुरु गरेका हमालको बारीमा ५०० वटा किवीका बिरुवा छन् । रोपेको करिब तीन वर्षमै उत्पादन दिन थाल्छ । हमालले उत्पादन गरेको किवी प्रति केजी २५० देखि ३०० रुपैयाँसम्ममा घरैबाट बिक्री हुनेगरेको छ । अहिले बारीमा लटरम्म फल लागिरहेको कृषक हमाल बताउँछन् । भदौबाट किवी बिक्री सुरु गरिने उनले जानकारी दिए । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किवीको बिरुवासमेत हमालले आफैले उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।  किवीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक लाखौँ बढी आम्दानी हुने गरेको उनले बताए । 

हमालले उत्पादन गरेको बिरुवा प्रतिगोटा साढे २०० रुपैयाँमा घरबाटै बिक्री हुने गरेको छ । जिल्लामा किवीको व्यावसायिक खेती सुरु गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले माग अनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको हमालको भनाइ छ । २०७३ साउन ३२ गते हमाल कृषि फर्म दर्ता गरेर व्यावसायिक खेती सुरु गरेको हमालले जानकारी दिए । 

रहरै रहरमा किवी खेती सुरु गरेका हमालका लागि अहिले किवीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ । हमाललको फार्ममा अहिले एक हजार ५०० बढी बिरुवा मौज्दात रहेको बताए । एउटा वयस्क किवीको बोटमा २५ देखि ४० केजीसम्म फल उत्पादन हुने गरेको कृषक हमालले जानकारी दिए । बजार मूल्यमा अन्य फलफूलभन्दा किवी धेरै महँगो छ । आफूले उत्पादन गरेको किवी बजार पुर्याएपछि चाख्नकै लागि भएपनि उपभोक्ताले खरिद गर्ने गरेको हमालले बताए । उनीजस्तै एक दर्जन घरका स्थानीय बासिन्दाले व्यावसायिक रूपमा किवी खेती गरिरहेका छन् ।

किवी खेती विस्तार गरिने

कृषि विकास निर्देशनालय सुर्खेतले किवीको क्षेत्र विस्तार गरिरहेको छ । कृषकलाई अनुदान उपलब्ध गराएर किवी खेतीलाई प्रवर्द्धन गर्ने गरिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले बताए । कर्णालीको वातावरण किवी खेतीका लागि उपयुक्त रहेको उनको भनाइ छ । किवी फलमा धेरै पौष्टिक तत्व भएको कारण सबै उमेर समूहका व्यक्तिहरूका लागि उपयुक्त मानिन्छ । किवी खेतीका लागि निर्देशनालयले पोल, बिरुवा र सिँचाइमा सहयोग पुर्याउँदै आएको छ । व्यावसायिक किवीको उत्पादनमा युवाहरूको चासो बढेको निर्देशक रोकायले बताए । कृषकहरूलाई किवी खेती गर्न प्रोत्साहित गर्नका लागि निर्देशनालयले किवीको पकेट क्षेत्र निर्धारण गरी आगामी आर्थिक वर्षदेखि पोल निर्माणमा थप अनुदान उपलब्ध गराउने उनले जानकारी दिए ।

सुर्खेतको चिङ्गाड गाउँपालिका, जाजरकोटको नलगाड, भेरी नगरपालिका र कुशे र जुनीचादे गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका र रुकुमपश्चिमका विभिन्न पालिकामा समेत किवी खेती भइरहेको निर्देशनालयले जनाएको छ । 

किवी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकहरूलाई निर्देशनालयबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाइएको छ । अन्य खेतीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी हुने कृषकको अनुभव छ । अहिले कृषकका बारीहरू किवीले ढपक्कै ढाकिएका छन् । किवी बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ५० देखि १०० किलोसम्म फल दिने गरेको कृषकहरूको भनाइ छ ।

प्रतिक्रिया