Listen LIVE

विदेशमा नभई स्वेदशमै पसिना बगाउने प्रण

दैलेख : रोजगारीका लागी साउदी अरब पुगेर फर्केका भगवतीमाई गाउँपालिका–४, मन्घरका सुनील बिसीले विदेश बस्दाको अपमानभन्दा स्वदेशमै बसेर पसिना बगाउने प्रण गरेका छन् । दुई वर्ष विदेशमा बसेर फर्केका बिसीले भने, “विदेश बस्दा जस्तो खालको मैले अपमान सहेँ, त्यो सम्झन पनि मन छैन । अब जे जति पसिना बगाउँछु, आफ्नै गाउँमा बगाउँछु भनेर कृषि पेसामा लागेको छु ।” 

दुई रोपनीबाट सुरु गरेको तरकारी खेती अहिले ३० रोपनीमा फैलिएको छ । त्यसमा आलु, काउली, बन्दा र अन्य तरकारी खेती गरिरहेका उनले अझै जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्ने योजना बनाइरहेका छन् । विदेशको अपमानले स्वदेशमै फर्किएर तरकारी खेती गर्नुभएका भएका बिसीको वार्षिक आम्दानी सातदेखि १० लाख रुपैयाँसम्म हुने गरेको छ । 

गाउँका अधिकांश युवा खाडी मुलुकमा रहेका बेला स्वदेशमै कृषिलाई मूल पेसा बनाएका बिसीले भने, “हाम्रै घरबारीमा पैसा छ, त्यो भेउ नपाएर होला, हामी सबै पैसा खोज्न देशबाहिर जाने गरेका छौँ । अब यो बानी सपार्नु पर्छ ।” 

डुङ्गेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदार रोजगारीका लागि भारतको गुजरातबाट फर्केपछि अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छन् । लामो समय होटेलमा काम गर्नुभएका उनी स्वदेशमा आफू मात्र होइन, अरूलाई पनि रोजगारी दिनु पर्छ भन्ने उद्देश्यले कृषि पेसामा लागेको बताउँछन् । कृषि पेसा अँगालेपछि उनले पाँच जनालाई रोजगारीसमेत दिएका छन् । उनी मात्र होइन, रोजगारीका लागि साउदी अरब पुगेका दुल्लु नगरपालिका–१३ का गणेशबहादुर शाहीसमेत स्वदेश फर्केर व्यावसायिक बिउ उत्पादनमा लाग्नुभएको छ । 

तरकारी बालीको बिउ उत्पादन गरी वार्षिक सात लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको उनले बताए । उनले भने, “घरपरिवारसँगै बसेर लाखौँ रकम कमाउन सकिने रहेछ, व्यर्थैमा ऋण काढेर साउदी पुगेँ, खासै उपलब्धि हुन सकेन ।” 

माथिका केही प्रतिनिधि पात्र हुन्, जसले विदेश त्यागेर कृषि रोजे र गाउँमा उदाहरण पनि बनेका छन् । पछिल्लो समय विदेशबाट फर्केर कृषि व्यवसायमा लाग्नेको सङ्ख्या जिल्लामा बढ्दो क्रममा रहेको छ । विदेशबाट फर्किएर कृषि व्यवसाय गरेका कृषकलाई अनुदान, सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध हुने भएपछि कृषि व्यवसायप्रति युवाको आकर्षण बढ्दो क्रममा रहेको छ । 

जिल्ला कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झलक भण्डारीले विदेशबाट फर्केर स्वदेशमै व्यावसायिक कृषि गरेका युवाकोे प्रगति लोभलाग्दो भएको बताए । उनले कृषि विकास कार्यालयले समेत विदेशबाट फर्किएका युवालाई व्यावसायिक कृषिमा लगाइराख्न अनुदान दिएर प्रोत्साहन गरिरहेको बताए । उनले भने, “कार्यालयबाट सञ्चालन हुने जैविक तरकारी खेती, नमुना फार्म र हाइटेक टनेल खेतीलगायतका कार्यक्रम सञ्चालन गरिएका छन ।” 

व्यावसायिक तरकारी खेती गरिरहेका युवालाई भने सिँचाइ अभावले सताउन थालेको छ । भगवतीमाई गाउँपालिका–४ का सुनील बिसीले भने, “पहाडी भेगमा सिँचाइको राम्रो अवस्था छैन । काम गर्ने जोसजाँगर छ, पानीको अभावले सोचे जस्तो प्रतिफल लिन सकेको छैन ।”

प्रतिक्रिया