Listen LIVE

लसुन खेतीबाट मनग्य आम्दानी गर्दै लेहडागाउँका किसान

सुर्खेत : कर्णाली प्रदेश राजधानीमै रहेको लेहेडागाउँ यतिबेला लसुनमय बन्दै छ । यहाँका अधिकांश कृषकले लसुन खेती गर्छन् । लसुन नलगाउने र नबेच्ने घर नै छैन । वीरेन्द्रनगर नगरपालिका–१६ मा रहेको लेहडागाउँमा ४८ घरधुरी छन् । ती सबैले लसुन खेती गर्न थालेका छन् । 

वडाका थिमबहादुर खड्काले व्यावसायिकरूपमा लसुन खेती गरेको १५ वर्ष भयो । पछिल्लो केही वर्षयता थिमबहादुर लसुन खेतीतर्फ आकर्षित भएका छन् । लसुन खेतीले उनको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ । गहुँभन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उनी बताउँछन् । 

लसुन सजिलै फस्टाउने र तुसारो पनि सहन सक्ने भएकाले नगदेबाली लसुन खेती राम्रो भएको खड्काले जानकारी दिए । लसुनबाट नै उनी वार्षिक तीन लाख आम्दानी गर्छछन् । लेहडाका ४८ घरधुरीले अघिल्लो वर्ष १२ लाख बराबरको नगदे बाली लसुन बिक्री गरेका थिए । यस वर्ष मूल्य बढेसँगै उत्पादन पनि राम्रो भएको छ । यो वर्ष उक्त गाउँका किसानले १७ लाखसम्म आम्दानी गरे ।

सोही वडाका रुद्रदेव चपाईंले गत वर्ष नौ क्विन्टल लसुन बिक्री गरे । उक्त खेतीबाट एक लाख आम्दानी भएको थियो । यो वर्ष पनि सोही हाराहारीमा उनले लसुन बिक्री गरे । अघिल्लो वर्षभन्दा मूल्य बढेकाले पनि आम्दानी राम्रै भएको उनले बताए । नगदे खेतीका लागि आवश्यक सिँचाइको व्यवस्था गर्न सकेमा उत्पादन अझै बढ्ने उनको भनाइ छ । 

विसं २०७० भन्दा पहिले थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर २०७२ सालदेखि व्यावसायिकरूपमा वडाका किसानले लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङ्गो गाउँ नै लसुन खेतीमा आबद्ध भएको छ । अहिले वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेको वडाध्यक्ष डण्डबहादुर विश्वकर्माले बताए । वडा सडक सञ्जालमा जोडिएपछि भने २०७६ सालबाट वडाबाटै किसानले उत्पादन गरेको लसुनलगायत अन्य उत्पादित तरकारी गाडीमा वीरेन्द्रनगरसम्म लैजान सजिलो भएको उनले बताए । 

वडाका प्रत्येक किसानले एक सिजनमा कम्तीमा १३ क्विन्टल लसुन बिक्री गर्ने गरेका छन् । उत्पादन भने त्योभन्दा बढी हुन्छ । बाँकी लसुन बिउका लागि राख्ने गरिएको छ । उत्पादित लसुन प्रतिकिलो एक सयदेखि ११० रुपैयाँसम्ममा गाउँबाटै बिक्री हुँदै आएको कृषकले बताएका छन् । 

हरेक सिजनमा किसानले लसुन बिक्री गरेर एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

प्रतिक्रिया