नेपालगञ्ज : बाँकेमा गत वर्षभन्दा यसवर्ष गहुँ खेती गर्ने क्षेत्रफल घटेपनि गहुँ उत्पादनमा भने वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठका अनुसार गत वर्ष जिल्लाका विभिन्न स्थानमा २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती गरिएको थियो । तर यसवर्ष भने २० हजार ८९५ हेक्टर जमिनमा मात्र गहुँ खेती गरिएको हो ।
“गत वर्षभन्दा यसवर्ष गहुँ खेती गर्ने क्षेत्रफल घटेको छ, गतवर्ष २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा किसानले गहुँ खेती गरेका थिए भने यसवर्ष २० हजार ८९५ हेक्टर क्षेत्रफल जमिनमा मात्र गहुँ खेती भएको छ, यसवर्ष गत वर्षभन्दा ६२० हेक्टर कम क्षेत्रफल जग्गामा गहुँ खेती भएको छ, तर क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको छ ।” सूचना अधिकारी श्रेष्ठले भने ।
उनका अनुसार गतवर्ष उक्त क्षेत्रफल जग्गामा ७३ हजार ९० मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यसवर्ष उत्पादन बढेर ७७ हजार ७०८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
“खेती गर्ने जग्गाको क्षेत्रफल घटेपनि यसवर्ष गत वर्षभन्दा चार हजार ६१८ मेट्रिक टन गहुँ बढी उत्पादन भएको छ, बिउको प्रतिस्थापन दर बढ्दो भएका कारण र हाइब्रिड जातको बिउको बढी प्रयोगका कारण पनि उत्पादनमा वृद्धि भएको हो ।” उनले भने । किसानहरूले गहुँ खेती गर्ने जग्गामा विभिन्न तरकारीजन्य खेतीतर्फ आकर्षित हुँदा र तरकारीसहित अन्य खेती गर्दा क्षेत्रफल घटेको उनको भनाइ छ ।
समयसमयमा किसानका खेतमै पुगेर गहुँबालीको अनुसन्धान गर्ने, बाली उपचार शिविरको सञ्चालन गर्ने, घुम्ती स्थलगत तालिम तथा विभिन्न सचेतना कार्यक्रमहरु गर्ने गरेका कारण पनि क्षेत्रफल घटेपनि उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष ३ दशमलव ४० मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेकोमा यसवर्ष ३ दशमलव ७२ मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार