बाजुरा : बाजुराको पूर्वोत्तरी क्षेत्रमा स्याउ पाक्न सुरु भए सँगै किसानहरू ढुवानी समस्यामा परेका छन्।
प्रायः किसानहरूको मुख्य आम्दानीको स्रोत बनेको स्याउ बजारसम्म पु¥याउन नसक्दा हरेक वर्षजस्तै यस वर्ष पनि कृषकहरू चिन्तित भएका छन्।
करिब तीन महिना देखिको मार्तडी–कोल्टी सडक अवरुद्ध अझै पनि खुलेको छैन। वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध बनेको थियो। सडक नखुलेपछि किसानहरूले बारीमै स्याउ कुहिने हो कि भन्ने त्रास लिएका छन्।
सहारा स्याउ गार्डेनका सञ्चालक पुर रावतका अनुसार यो बर्ष स्याउ राम्रो उत्पादन भएको भए पनि सडक बन्द हुँदा कुनै वर्ष जस्तै यसपटक पनि बारीमै कुहिएको स्याउ मलझैँ प्रयोग गर्नुपर्ने अवस्था आउने चिन्ता छ। “सरकारले बाटो बनाइदिनुपर्छ, बजार देखाइदिनुपर्छ, आत्मनिर्भर बन्न हामी मेहनत गर्छौं। तर बर्सेनि बाटो नै ठूलो पिरलो हुन्छ,” बुढिनन्दा पाण्डुसैनका स्याउ कृषकको गुनासो छ।
त्यस्तै स्वामिकार्तिक–१ जोरुकी स्याउ कृषक सुनिता कडाराले आम्दानी रोकिएपछि परिवारको खर्च जोहो गर्न कठिनाइ भएको बताइन् । “आम्दानी यही स्याउ थियो, अब कापी–कलमदेखि खानासम्म कसरी जोहो गर्ने?” उनको दुःखेसो छ।
यता, कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसि सहानीका अनुसार अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कृषकको बारीबाटै स्याउ ढुवानी गरेर बजारसम्म पुर्याउने काम अनुदानमार्फत गरिने छ। तर सडक अवरुद्ध नै ठूलो चुनौती बनेको उनले बताए।
नेपालमै अर्गानिक र स्वादिष्ट मानिने बाजुराको स्याउ देशका विभिन्न शहरमा बजारीकरण हुँदै आएको छ। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार बाजुराको पाण्डुसैन, जुकोट, जगन्नाथलगायत क्षेत्रमा करिब १ सय ७० हेक्टर क्षेत्रफलमा हरेक वर्ष करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ।
तर ढुवानीको समस्याकै कारण किसानहरूको वर्षभरिको मेहनत बारम्बार खेर जाँदै आएको छ। किसानहरूले दीर्घकालीन समाधानका लागि सडक निर्माण र व्यवस्थित बजार व्यवस्थापनमा सरकारले चासो दिनुपर्ने माग गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार