Listen LIVE

लुम्बिनीमा विद्युतीय बस सञ्चालन गर्न पहल

लुम्बिनी : लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धन र वातावरण संरक्षणका उद्देश्यले करिब पाँच वर्षअघि एसियाली विकास बैङ्कको सहयोगमा ल्याइएका विद्युतीय बस सञ्चालनमा ल्याउने विषयले पछिल्लो समय प्राथमिकता पाउन थालेको छ । 

लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका ती बसको प्रभावकारी उपयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालाबिच चासो बढ्दै गएको हो ।

लुम्बिनी विकास कोषले पाँच वटा विद्युतीय बस नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ । हाल ती बस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा राखिएका छन् । बसको व्यवस्थापन तथा सञ्चालनबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।

स्थानीय तह र सरोकारवालाले लुम्बिनी क्षेत्रकै पर्यटन प्रवर्धनमा योगदान पुग्ने गरी बस सञ्चालन गर्नुपर्ने धारणा राख्दै आएका छन् । स्थानीय अर्जुन कुर्मीले लुम्बिनी जस्तो अन्तर्राष्ट्रिय महत्व बोकेको क्षेत्रका लागि ल्याइएका आधुनिक बसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने बताउँदै यसले क्षेत्रीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहले पनि बस भैरहवामै सञ्चालन गर्न सकिने सम्भावना औँल्याए । उनका अनुसार विमानस्थल र लुम्बिनीबिच …सटल सेवाÚ का रूपमा बस सञ्चालन गर्दा यात्रु आवतजावत सहज हुनुका साथै पर्यटन प्रवर्धनमा प्रत्यक्ष सहयोग पुग्ने छ । उनले कम्तीमा दुई वटा बस विमानस्थल सञ्चालनका लागि उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए । यसअघि परीक्षणस्वरूप बेलहिया–लुम्बिनी तथा लुम्बिनी–तिलौराकोट मार्गमा बस सञ्चालन गरिएको थियो । यसले विद्युतीय सवारीसाधन सञ्चालनको सम्भावना देखाएको सरोकारवाला बताउँछन् ।

हाल बसको मर्मतसम्भार तथा प्राविधिक व्यवस्थापन आवश्यक देखिएको छ । बस अत्याधुनिक सुविधायुक्त छन् । १९ सिट क्षमता, उभिँदा ३५ जनासम्म अट्ने, पूर्ण वातानुकूलित, अपाङ्गमैत्री, स्वचालित ढोका, कार्डमार्फत सञ्चालन, आवाजरहित तथा एक पटक पूर्ण चार्जमा करिब चार सय किलोमिटरसम्म गुड्ने क्षमता रहेका छन् ।

विमानस्थल व्यवस्थापनले आवश्यक मर्मत र उपकरण व्यवस्थापन गरी बस सञ्चालनमा ल्याउन आफूहरू तयार रहेको जनाएको छ । लुम्बिनीमै रहेको चार्जिङ स्टेसनको उपयोग गरेर सेवा सुरु गर्न सकिने सम्भावना पनि औँल्याइएको छ ।

२०७७ मङ्सिरमा …क्लिन इनर्जी प्रोजेक्टÚ अन्तर्गत करिब १३ करोड रुपैयाँ लागतमा पाँच वटा बस र १४ वटा विद्युतीय भ्यान लुम्बिनी ल्याइएका थिए । प्रारम्भिक चरणमा कार्यविधि, जनशक्ति र कानुनी प्रक्रियामा देखिएका चुनौतीका कारण पूर्ण रूपमा सञ्चालन हुन नसके पनि अब ती सवारीसाधनलाई प्रभावकारीरूपमा प्रयोगमा ल्याउनेतर्फ सरोकारवाला सक्रिय देखिएका छन् ।

प्रतिक्रिया