Listen LIVE

कोटाको मल सकिएपछि निजी कम्पनीको मल किन्दै बाँकेका किसान

नेपालगञ्ज : बाँकेमा कोटामा पाउने रासायनिक मलको अभाव भएपछि स्थानीय तहले निजी कम्पनीले उत्पादन गरेको रासायनिक मल ल्याएर बिक्री तथा वितरण गर्न थालेका छन् । माटो तथा मल परीक्षण प्रयोगशालाले जाँच गरेर बजारमा ल्याएको मिश्रित रासायनिक मल खजुरा गाउँपालिकाका विभिन्न १५ सहकारीमार्फत किसानले किन्न थालेका छन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्मरबहादुर विकले अनुदानमा आएको कोटाको रासायनिक मलको अभावमा किसानलाई मोरङबाट उत्पादन भएको सुन्दर मल वितरण गरिएको बताए । ‘यसलाई किसानले रुचाउनुभएको छ, त्यसैले यसको माग बढेको छ,’ उनले भने । अध्यक्ष विकले अहिलेसम्म एक हजार ५०० बोरा रासायनिक मल वितरण भएको जानकारी दिए ।

उनले रासायनिक मलको अझै माग भइरहेको बताए । १४ हजार घरधुरी रहेको खजुरा गााउँपालिकामा अनुदानको मल ९०० बोरा मात्रै पाएपछि विकल्पका रुपमा सो रासायनिक मलको बिक्री वितरण भएको अध्यक्ष विकको भनाइ छ । उनले सो मल अनुदानको मलको तुलनामा महँगो भएको समेत उल्लेख गरे ।

नेपालगञ्जमा पनि सो मल बिक्री वितरणका लागि जिल्ला सहकारी सङ्घ, बाँकेको कार्यालयमा राखिएको छ । रासायनिक मल प्राप्त गर्नका लागि त्यहाँ स्थानीय किसानको भीड लागेको छ । ‘अनुदानको मल नपाएपछि बाध्य भएर यो रासायनिक मल ल्याएका छौँ,’ जिल्ला सहकारी सङ्घ, बाँकेका प्रवन्ध सञ्चालक नवराज उपाध्यायले भने ।

उनले अनुदानमा आउने रासायनिक मलभन्दा निजी कम्पनीले उत्पादन गरेको मल महँगो भएको उल्लेख गर्दै रासायनिक मलमा नाइट्रोजन, फस्फोरस र पोटास मिसाइएको बताए । सहकारी सङ्घमा ५०० बोरा मल आएकामा १५० बोरा आज मात्र वितरण भएको जानकारी दिँदै प्रबन्ध सञ्चालक उपाध्यायले नेपालगन्जबाहेक, जानकी र डुडुवा गाउँपालिकाबाट समेत मल लिन किसान आएको बताए । सो रासायनिक मल रु दुई हजार ५०० प्रतिबोरा पर्छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जले युरिया मल कोटा अनुसार वितरण भएको जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले माग अनुसार मल नआउँदा किसानका माग सम्बोधन नभएको उल्लेख गर्दै खरिद गर्ने बेलामा नै बढी बजेट विनियोजन भए त्यसबाट आपूर्ति सहज हुने बताए । बाँकेमा मलको अभाव भएपछि थप युरिया मल पठाउनका लागि पहल भइरहेको प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया