काठमाण्डौ : नेपालले महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आइसिसीले सो ग्लोबल छनोट सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुने जानकारी दिएको हो।
यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुने छ। यो प्रतियोगिताका खेल माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने बताइएको छ।
नेपालमा हुने प्रतियोगितामा सहभागी १० टिमले शीर्ष चार स्थान हासिल गरेर सन् २०२६ मै इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपका लागि योग्य हुने प्रयास गर्ने छ । महिला टी–२० विश्वकप सात रङ्गशालामा २४ दिन चल्ने छ। महिला टी–२० विश्वकपको फाइनल लड्र्समा हुने छ।
बङ्गलादेश र आयरल्यान्ड ग्लोबल क्वालिफायरका लागि स्वतः छनोट भएका छन्। यी दुवै टिमले सन् २०२४ को महिला टी– २० विश्वकपमा सहभागिता जनाएका कारण सिधै ग्लोबल क्वालिफायर खेल्ने छ। घरेलु टिम नेपाल र थाइल्यान्ड एसिया क्षेत्र र अमेरिकी क्षेत्रबाट अमेरिका छनोट भएका छन्। बाँकी पाँच देशको टुङ्गो लाग्न बाँकी नै छ।
अफ्रिका र युरोपबाट दुई दुई तथा इस्ट एसिया– प्यासिफिक क्षेत्रबाट एक टिमले पनि नेपालमा खेल्ने छ। प्रतियोगितामा रहेका १० टोलीलाई दुई समूहमा विभाजन गरिने छ । समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुने छ। आइसिसीले विस्तृत खेल तालिका चाँडै सार्वजनिक गर्ने बताएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार