कालीकोट : कालीकोटको खाँडाचक्र नगरपालिका–५, तेर्सो बजारका भीमबहादुर कार्की चार–पाँच वर्षदेखि तरकारी खेतीमा संलग्न छन् । क्यान्सरको बिरामी हुँदा पनि उनले तरकारी खेती गर्न छाडेका छैनन् । भिरालो जमिनको १२ रोपनी जग्गामा उनले आलु, फर्सी, काँक्रा, खुर्सानी, गोलभेँडा, चिचिन्डा, काउली, फर्सीलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । त्यही तरकारी खेतीबाट उनले क्यान्सर हुँदा लागेको करिब १० लाख ऋण चुक्ता गरे । थप जग्गा जोडे । नयाँ घर बनाए ।
क्यान्सरपीडित हुँदा पनि यही तरकारी खेतीले हिम्मत दिएको उनी बताउँछन् । खेर गइरहेको भिरालो जमिनमा तरकारी हुँदैन होला भन्ने लागेको बताउने उनले अहिले त लटरम्म फलेको तरकारी बजारमा बेच्ने गरेका छन् ।
पाँच वर्षअघि जग्गामा धान, कोदो लगाउने गर्दथे तर तरकारीबाट राम्रो कमाइ हुने भएपछि धान लगाउन छाडेको बताए । एक मौसममा उनले ८० क्विन्टल तरकारी बेच्ने गरेको दाबी गरे । सबै खर्च कटाएर तीन–चार लाख रुपैयाँसम्म उनले बचत गर्ने गरेको पनि जानकारी दिए । यस्तै उक्त स्थानका टेकबहादुर कार्कीले दैनिक १२–१३ क्विन्टल तरकारी सङ्कलन केन्द्रमा ल्याउने गरेका छन् । उनले तेर्सो बजारनजिकका गाउँका किसान सबै तरकारी खेतीतर्फ आकर्षित भएको बताए । पहिले कमाइका लागि भारत जानेहरू पनि तरकारी खेतीबाट राम्रो फाइदा आउन थालेपछि भारत नगई तरकारी खेतीमै लागेको उनले बताए ।
गाउँका सबै किसानले तरकारी खेती गर्न थालेपछि हाल यहाँ नैनलदेव कृषि समूह गठन गरिएको छ । सो समूहमा २७ जना किसान आबद्ध छन् । समूहका अध्यक्षसमेत रहनुभएका भीमबहादुर कार्कीले प्रत्येक कृषकले एक मौसममा तरकारीबाट ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको जानकारी दिए ।
यसै गरी जुम्ला चन्दननाथ नगरपालिका–७, मिचाकी झुमा रावलले तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मलेसियामा रहेका श्रीमान् तेजबहादुर रावललाई घर बोलाएकी छन्। तरकारीबाट किसान मात्र होइन, तरकारी व्यापारीले पनि राम्रो आम्दानी गर्न सफल भएका छन् । कालीकोटका किसानले तरकारी उत्पादन गरी ६० प्रतिशत जिल्लामै निर्भर गराउन सफल भएका छन् ।
विगतमा ८० प्रतिशत तरकारी सुर्खेतबाट लैजानुपर्नेमा अहिले त्यहीँकै किसान उत्पादन गरेपछि त्यो ४० प्रतिशतमा झारेको तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले बताए । किसानले उत्पादन गरेको तरकारी कालीकोटका साथै जुम्लासमेत पठाउने गरिएको छ । उनले दुई–दुई दिनमा नौ क्विन्टल तरकारी सङ्कलन हुने र सदरमुकाम मान्म तथा जुम्ला पठाउने गरेको बताए । मासिक २० टन तरकारी बाहिर पठाउने उनको भनाइ छ ।
कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका लैङ्गिक समानता र सामाजिक समावेशीकरण अधिकृत रुद्र आचार्यले पुरानो कर्णालीको जुम्ला, कालीकोट र मुगुमा १६५ कृषक समूहमा तीन हजार पाँच सयभन्दा बढी किसान आबद्ध भएको जानकारी दिए । किसानलाई आवश्यकताका आधारमा सिँचाइ कुलो, उन्नत बिउ, तालिम तथा अन्य प्राविधिक सहयोग गरी आत्मनिर्भर बनाउने प्रयास कार्यक्रमले गरेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार