Listen LIVE

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्यो

बर्दिया : सहजै बाघ देख्न सकिने निकुञ्जको रूपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा करिब दुई हजार जना पर्यटक बढी भित्रिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । भने अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २६ हजार एक सय ३१ जना पर्यटक प्रवेश गरेका थिए । कोरोना काल यता हरेक वर्ष निकुञ्जमा प्रवेश गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

गत आर्थिक वर्षमा निकुञ्जमा नेपाली १९ हजार १०, सार्क मुलकका एक हजार पाँच सय ४० र विदेशी सात हजार पाँच सय १७ जना प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपाली १८ हजार १०, सार्क मुलुक एक हजार चार सय ३७ र विदेशी ६ हजार ६ सय ४८ जना निकुञ्ज प्रवेश गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० मा नेपाली १६ हजार सात सय ८६ जना सार्क मुलुक एक हजार दुई सय २८ जना  र विदेशी ६ हजार तिन सय ८४ जना गरी २४ हजार तीन सय ९८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । निकुञ्जको तथ्याङ्क हेर्दा विगत् तीन वर्ष यता नेपाली विदेशी र सार्कमुलुकका पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको देखिन्छ ।

सङ्ख्यामा वृद्धि भएसँगै पर्यटक प्रवेशबाट उठ्ने राजस्वमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा पर्यटकहरूबाट मात्र तीन करोड २६ लाख राजस्व निकुञ्जमा उठेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ दुई करोड ८४ लाख राजस्व पर्यापर्यटनबाट प्राप्त भएको छ । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न एक सय, सार्क मुलुकका पर्यटकलाई सात सय ५० र अन्य मुलुकका पर्यटकका लागि एक  हजार पाँच सय शुल्क लाग्ने गरेको संरक्षण अधिकृत सन्तबहादुर मगरले बताए ।  

पछिल्लो समयमा निकुञ्जमा भ्रमण गर्न आउने नेपाली पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामले बताए । उनले भने, ‘‘पहिले पहिले पर्यटक भनेकै विदेशी हुन् वा निकुञ्ज घुम्ने विदेशीले मात्र हो भन्ने धारणा कम भएको छ । अहिले तुलनात्मक रूपमा बाघ लगायतका जङ्गली जनावर हेर्नका लागि निकुञ्ज प्रवेश गर्ने नेपाली बढिरहेका छन् ।’’

पर्यटनका लागि अफ सिजन शुरु भए पनि अझै पनि फाटफुट पर्यटकहरू निकुञ्ज प्रवेश गरिरहेको निकुञ्जले जनाएको छ । विशेषगरी बिदाको दिनमा निकुञ्जमा नेपाली पर्यटकको बाक्लो उपस्थिति हुन्छ । हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन, जङ्गल सफारी, जङ्गल वाल्कका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रिया