बर्दिया : बर्दियामा पछिल्लो समय युवा वर्ग नगदे बालीतर्फ आकर्षित हुन थालेको छ । बर्दिया जिल्लामा अहिले सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीतर्फ युवाको आकर्षण बढ्दै गएको हो ।
बजारमा सजिलै बिक्ने र परल मूल्यभन्दा पनि नाफा बढी हुने भएपछि अहिले युवाको आकर्षण ड्र्यागन खेतीतर्फ बढेको हो । विशेष गरी बर्दियाको गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा ड्र्यागन खेतीमा आकर्षित भएका हुन् । सजिलो बजार र उत्पादन भएको समयमा खपत हुने भएकाले युवाहरूको आकर्षण यो खेतीतर्फ बढेको हो ।
ड्र्यागन खेतीतर्फ आकर्षित भएका युवाहरूले उत्पादन गरेको ड्र्यागन फ्रुट यतिबेला गुलरिया, ताराताल, सानोश्री र भुरिगाउँलगायतका बजारमा बिक्री हुँदै आएको छ । अहिले बर्दिया जिल्लाको दुई नगरपालिका क्षेत्रमा मात्र करिब आठ बिघाभन्दा बढी क्षेत्रफलमा ड्र्यागन फ्रुटको खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ ।
गुलरिया नगरपालिका–८, जय बागेश्वरी टोलका हमला पुनले ड्र्यागन फ्रुटको खेतीबाट राम्रो आम्दानी हुने भएकाले तीन वर्षदेखि आफूले उत्पादन गर्दै आएको बताइन् । गुलरियामा उत्पादन भएको ड्र्यागन फ्रुटले बजार धान्नसमेत मुस्किल भएको उनको भनाइ छ ।
गुलरियाबाट उत्पादन हुने फल किन्न मानिस हमलाको घरमा नै पुगेर प्रतिकेजी ३५० रुपैयाँमा फल किन्ने गरेका छन् । मधुवन नगरपालिका–६ का जीवन मल्लले एक पटक लगाएपछि १५ देखि २० वर्षसम्म उत्पादन हुने र बजारसमेत राम्रो भएकाले आफू पनि आकर्षित भएको बताए ।
गुलरिया नगरपालिका सुरजपुरका स्थानीय हिमबहादुर पुनले एक पटक लगाएपछि १५ वर्षसम्म ढुक्क भइने र वर्षमा आठ पटकसम्म फल उत्पादन हुने भएकाले यो खेतीबाट राम्रो आम्दानी हुने बताए । चार कट्ठा बारीमा खेती गरिएकोमा वर्षभरिमा आठ पटकसम्म फल दिने र एक पटकमा चार क्विन्टलसम्म उत्पादन हुने पुनको भनाइ छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले नगदे बालीतर्फ आकर्षित हुने युवालाई एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले सिँचाइ र बिरुवाको व्यवस्थापन गर्ने लक्ष्य रहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार