Listen LIVE

बाँकेको मध्यवर्ती क्षेत्रका किसानलाई अन्नबाली जोगाउनै मुस्किल

नेपालगञ्ज : राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा वन्यजन्तुको आतंक बढेको छ। यहाँका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ ।

दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित छन्। वन्यजन्तु समस्याका कारण मध्यवर्ती क्षेत्रका किसानको जीउधन र खेतीबाली जोखिममा परेको राप्ती सोनारी गाउँपलिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताए।

निकुञ्ज क्षेत्रमा अवस्थित राप्तीसोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन्। महादेवा, बुचापुर उडयन, पश्चिमपूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायत टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारूले जानकारी दिए। 

राप्ती सोनारी गाउँपालिका–८ बालापुरका स्थानीयवासी महावीर खत्रीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे। उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे। निर्वाचनका वेला नेताले आश्वासन दिए पनि काम नगरेको उनको भनाइ छ। 

राप्ती सोनारीको वडा नं १ मा लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित छन्। वन्यजन्तु प्रमुख समस्या रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए। 

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बैजनाथ गाउँपालिका–१, कोहलपुर नगरपालिकाको वडा नं १२ र १३ का गाउँबस्ती रहेका छन्। मध्यवर्ती क्षेत्रका जनप्रतिनिधिले वन्यजन्तु समस्या समाधानका लागि प्रतिनिधिसभा, प्राकृतिक स्रोत साधन तथा कृषि समितिमा संयुक्त रूपमा माग गरे पनि सुनुवाइ हुन नसकेको राप्ती सोनारी– ८ का वडाध्यक्ष शालिकराम डाँगीले बताए। 

सांसद सूर्य ढकालले निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको जनाउँदै दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको बताए। उहाँले वन्यजन्तुबाट अतिप्रभावित निकुञ्ज वरिपरि वा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका घरपरिवालाई एक घर २५ लाख रुपैयाँको जीवन बिमा व्यवस्था गर्ने र  गोठको पाँच लाख पशु बिमाको व्यवस्था गर्ने नीति बनाउन आफूले पहल गरिरहेको जानकारी दिए। 

निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका ४५७ किसानलाई गत आर्थिक वर्ष २०८०÷८१ मा एक वर्षको अवधिमा क्षतिपूर्ति वितरण गरेको छ। त्यसमध्ये अन्नबाली क्षतिका २७२ घटनामा रु १० लाख ६९ हजार ३०० रुपैयाँ क्षतिपूर्ति वितरण गरेकोनिकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए।

प्रतिक्रिया