Listen LIVE

घोराहीमा नमुना आधुनिक भुह्यारथान निर्माण

दाङ : परम्परागतदेखि थारू समुदायको धार्मिक तथा सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकिएको भुह्यारथानलाई दाङको घोराहीमा नमुना तथा आधुनिक भुह्यारथानको रूपमा निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया पार्कमा देशकै नमुनाको रूपमा पक्की तथा आधुनिक भुह्यारथान निर्माण गरिएको हो । 

स्थानीय सरकार र प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त भूह्यारथानलाई आधुनिक र आकर्ष बनाएको हो । लुम्बिनी प्रदेश सरकारको ३० लाख र घोराही उपमहानगरपालिका दुई लाखसहित गाउँलेहरूको जनश्रमदानसहित करिब ३५ लाखमा आधुनिक भुह्यारथान र सामुदायिक भवनको मर्मत सम्भार गरिएको गुलरियाका मटावाँ रामप्रसाद चौधरीले जानकारी दिए ।

‘भुह्यारथान हाम्रो मन्दिर हो, आस्थाको धरोहर हो र दर्शन गर्ने एउटा ठाउँ पनि हो, उनले भने, “त्यसैले हामीले परम्परागत शैलीमा तर, भुकम्प प्रतिरोधात्मक र आधुनिक किसिमले पक्की भुह्यारथान बनाएका हौं ।’ उहाँको अनुसार भुह्यारथानमा बर्षेनी चार पटकसम्म सामुहिक रूपमा पूजापाठ गरिन्छ । यहाँ पूजापाठ गरेपछि गाउँमा शान्ति सुरक्षा हुने, अन्नबाली सप्रिने, रोगव्याधी नलाग्ने, पशुचौपायलाई रोग नलाग्ने जनविश्वास रहेको उनले बताए ।

‘थारू गाउँमा बस्ने जोकोहीले पनि बिहे गर्नेहरूले भुह्यारथानमा पूजापाठ र दर्शन गर्नुपर्ने संस्कार छ, उनले भने, “भुह्यारथानमा विवाह गर्ने परम्परा नभए पनि बेहुला र बेहुलीको शुभसाइतका लागि जन्ति जानेबेला र बेहुली लिएर आइसकेपछि बेहुला र बेहुली अनिवार्य भुह्यारथानमा दर्शन गर्नुपर्छ ।’ 

यस्तै भुह्यारथानमा अन्य शुभ साइतका लागि पनि पूजापाठ गरिन्छ । दशैंमा गाउँलेहरूले भुह्यारथानमा बसेर महाभारतसँग जोडिएको बर्कीमार गीत गाउने, टीकामा मकैको जमरा र बाबरी फूल लगाउने चलन रहेको उनको भनाइ छ ।

पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै

भुह्यारथान निर्माण भएपछि घोराहीका विभिन्न स्कुलबाट समेत अवलोकन गर्न आउने गरेको मटावाँ चौधरीले बताए । थारू समुदायको कला, संस्कृतिसँग झल्किने भएकाले विद्यार्थीसहित आन्तरिक पर्यटकहरू भुह्यारथानको अवलोनकसँगै दर्शन गर्न पनि आउने गरेको मटाँवा चौधरीले जानकारी दिए । ‘यसले हाम्रो धर्म संस्कृतिसँग मात्र जोडिएको छैन, उनले भने, “स्थानीय पर्यटनको प्रवर्धनको विकासमा पनि टेवा पुगाउँदै आएको छ ।” 

यस भुह्यारथान अवलोनक गर्न आउनेहरूले सामुदायिक भवनमा विविध थारू संस्कृति सम्बन्धिको पुस्तकहरू प्निअध्ययन गरेर जाने गरेको उनले बताए । दाङ आफैँ थारू समुदायको उद्गम जिल्लामाको रूपमा चिनिन्छ, उनले भने, “यहाँ आउने आन्तरिक तथा बाह्यक पर्यटकहरूले यहाँको आदिवासी जानजातिहरूको अवस्था, कला, संस्कृतिको बारेमा बुझ्न चाहन्छन्, त्यसका लागि पनि यहाँ आउने पर्यटकहरूको रोजाइमा भुह्यारथान पनि परेको हो । किनकी भुह्यारथान थारू समुदायको सांस्कृतिक तथा धार्मिक हिसाबले ऐतिहासिक महत्त्व बोकेका पवित्र स्थल हो ।”

यसैबिच घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले भुह्यारथान थारू समुदायको पूजापाठ गर्ने स्थल मात्र नभई स्थानिय पर्यटन, र थारू समुदायको संस्कृतिको धरोहरसँग जोडिएकाले आफूहरू यसको संरक्षण र प्रवर्धनमा लागेको बताए । वडामार्फत गाउँ–गाउँमा थारू संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले भुह्यारथान निर्माणमा सहयोग गरिँदैआएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख चौधरीले बताए । 

गाउँलेहरूको माग बमोजिम वडा सरकारमार्फत बजेट विनियोजन गरिँदै आएको उनले बताए । “भुह्यारथान थारू समुदायको सांस्कृति पक्षसँग मात्र धार्मिक र स्थानीय पर्यटनसँग पनि जोडिएकाले गाउँमा जिर्ण भएका भुह्यारथानको प्रवर्धनका लागि स्थानीय सरकारले सहयोग गर्दैआएको छ ।” उनकाअनुसार एउटा भुह्यारथान निर्माणका लागि कम्तीमा एक लाखदेखि तीन लाखसम्म बजेट विनियोजन गरिँदै आएको छ ।

यस्तै, घोराही उपमहानगरपालिका १७ का वडाध्यक्ष रामलौटन चौधरीले वडाको बजेटमा विभिन्न थारू गाउँमा ७ वटा पक्की भुह्यारथान निर्माण गरेको जानकारी दिए । उनले बर्षेनीरूपमा थारू गाउँ–गाउँमा भुह्यारथान बनाउँदै गएको बताए । यस्तै दङ्गीशरण गाउँपालिका –३ का वडाध्यक्ष सुकलाल चौधरीले पनि थारू गाउँहरूमा भुह्यारथान निर्माणका लागि बजेट विनियोजन गर्दैआएको जानकारी दिए ।

प्रतिक्रिया