Listen LIVE

कृषकलाई मर्कामा पर्न दिइने छैन : मन्त्री साह

काठमाण्डौ : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थान (डिडिसी) मा काम गर्ने कर्मचारीका कारण डिडिसी घाटामा गएको बताएकी छन् । 

डिडिसीमा अनियमितता छ, बिचौलियाहरू हाबी छन्, हिसाब किताब चुस्त राखिँदैन भन्दै उनले व्यवस्थापनकै कारण संस्था घाटामा गएको बताइन् । नेकपा (एमाले) निकट उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले भनिन् , “संस्थानलाई निजीकरण गरेर भए पनि समस्या समाधान हुन्छ । कृषकलाई मर्कामा पर्न दिइने छैन ।” 

कृषि मन्त्रालयमातहत रहे पनि डिडिसीले मन्त्रालयसँग समन्वय नगरेको गुनासो गर्दै किसानबाट खरिद गरिएको दुध नाफामा बेच्दा पनि कसरी संस्थान घाटामा गयो भनी प्रश्न गरिन् । कृषकको दुध खरिद गरेबापत करिब दुई अर्ब रुपैयाँ बक्यौता रहेको र त्यसलाई सल्टाउन मन्त्रालय लागिपरेको उनले बताइन् । 

मन्त्रालयले हालसालै ३० करोड रुपियाँ डिडिसीलाई दिएको छ भने ६० करोड रुपियाँ थप सहयोगका लागि अर्थ मन्त्रालयमा फाइल पेस भएको छ तर कर्मचारीले ती रकम कहाँ खर्च गरे त्यसको प्रतिवेदनसम्म दिन उनीहरूले नसकेको उनले गुनासो गरिन् । 

मन्त्री साहले कृषिमा माग जति बजेट नदिएका कारण कृषकको माग समयमा सुनुवाइ गर्न कठिन भइरहेको बताइन् । आएको बजेट पनि समयमा खर्च नभएर फ्रिज हुने गरेको उनले बताइन् । सरकारी बजेट खर्च गर्ने प्रक्रिया पनि झन्झटिलो भएकाले भएको बजेट पनि समयमा खर्च गर्न नसकेर फ्रिज हुने गरेको उनले बताइन् । 

उनले मल वितरण गर्ने प्रक्रिया प्रभावकारी नभएका कारण बेला बेलामा समस्या देखिएको बताउँदै वितरण प्रक्रिया सरल बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । मन्त्री साहले भनिन् , “मल वितरण प्रक्रिया नै प्रभावकारी छैन, कृषकलाई प्रसाद बाँडे जस्तो मल बाँड्नुपर्ने अवस्था छ । यी सबै समस्यालाई संशोधन गरी कृषकको माग सम्बोधन गर्नमा सरकारले ध्यान दिइरहेको छ ।”

प्रतिक्रिया