काठमाण्डौ : पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर केबुलकार रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
पोर्चुगलको आपतकालीन सेवाका अनुसार यो दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको थियो। पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ। यसमा एक बच्चा पनि समावेश छ।
पहिले घटनास्थलमा धेरै मानिसहरू फसेको रिपोर्ट गरिएको थियो। तर अधिकारीहरूले सबैलाई बाहिर निकालिएको जानकारी दिएका छन्।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुजाले दुर्घटनामा परेकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। लिस्बनका मेयर कार्लोस मोएडेसले यो राजधानीको लागि दुःखद क्षण भएको बताए।
आपतकालीन सेवाले मृतकहरूमा विदेशीहरू भएको बताए पनि उनीहरु कुन देशका हुन् भन्ने पुष्टि हुन बाँकी छ।