बर्दिया : कुनै समयमा थारू समुदायले पाहुना वा विशेष अतिथी घरमा आउँदा भात खुवाउन प्रयोग गरिने काला नमक धान लोप हुँदै गएपछि ठाकुरबाबा नगरपालिकाले यसको संरक्षण र प्रवर्धनको सुरुवात गरेको छ ।
रैथाने बालीको रूपमा रहेको काला नमक धान खानको लागि स्वादिलो र वास्नादार हुने गर्दछ । स्थानीय स्तरमा यदा कदा पाइने काला नमक धानको ठाकुरबाबा नगरपालिकाले बिउ उत्पादन गर्न थालेको छ ।
नगरपालिकाले सघन कृषि कार्यक्रम अन्तर्गत पाँच बिघा जग्गा भाडामा लिएर लोपोन्मुख कृषि बालीको खेति गरी बिउ उत्पादन गरेको छ । रैथाने धान काला नमक र मसिनो जातको धान ठाकुरबाबा नगरपालिका ५ वनविर मा खेती गरिएको छ । उक्त खेती कार्यमा पालिका अन्तर्गत रहेका कृषि शाखा कार्यरत कर्मचारी र ६ जना कृषि प्राविधिकले प्रशिक्षार्थीको रूपमा काम गरेको कृषि प्राविधिक विरेन्द्र रावतले बताए ।
यस वर्ष नगरपालिकाले गरेको खेतीमा २० क्विन्टल काला नमक धान उत्पादन भएको छ जसमध्ये ग्रेडिङ्ग गरेर करिब १५ क्विन्टल उच्च गुणस्तरको बिउ उत्पादन गरिएको छ भने बिउ बाहेकको काला नमक धान खानमा प्रयोग गर्ने नगरपालिकाले योजना बनाएको छ । ‘ठाकुरबाबा’ ब्रान्डको चामल उत्पादन गरी सहकारीहरूसँग समन्वय गरेर बजारीकरण गरेको ठाकुरबाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमले बताए । उनका अनुसार कालानमकसँगै मसिनो बास्नादार ३० क्विन्टल धान उत्पादन गरी बजारीकरण गरिएको छ ।
नगरपालिकाले उत्पादन गरेको ‘ठाकुरबाबा’ नामक काला नमक चामलको मूल्य १७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । पर्यटकिय क्षेत्रलाई लक्षित गरी स्वादिलो धानको उत्पादन गरिएको बताउँदै पर्यटकहरूलाई खुवाउनका लागि नगरपालिकाले अग्रसरता लिएको शाखा प्रमुख बमले बताए । उनले भने, ‘अब बर्दियामा आउने पर्यटकहरूले काला नामक र मसिनो बास्नादारको भात खाने पाउनेछन् ।’
५० प्रजातीका रैथाने बालीको प्रवर्धन गरिँदै
कालानमक, मसिनो बास्नादार, अनदी, तिल्की लगाएतका धान बाली, थारू आलु, स्थानीय हिउँदे सिमी, दलहन, मसला जन्यबाली लगायतका ४५ प्रजातीका रैथाने बालीको प्रवर्धन गर्न थालिएको छ ।
केही वर्षअघिदेखि खेती सुरुवात गरेको थारू आलु हाल १५ बिघा क्षेत्रफलमा पालिकाले नै खेती गरेको छ । यस वर्षदेखि स्थानीय सिमीकोसमेत खेतीको सुरुवात गरिएको कृषि शाखा प्रमुख बमले बताए । कृषकहरूले हेर्ने र यसरी पनि खेती हुने रहेछ भनेर सिकाउनका लागि खेती गरिएको उनले बताए ।
लोपोन्मुख बालीको संरक्षणका साथसाथै किसानलाई पाठशालाको रूपमा कृषिमा भित्रिएको प्राविधिक ज्ञान सिकाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए । लोपोन्मुख रैथाने कृषि बालीको संरक्षण गरी उन्नत बिउ उत्पादन गर्ने लक्ष्य लिइ खेती सुरु गरिएको बताउँदै आगामी दिनमा थप क्षेत्रफल विस्तार गरी चक्लाबन्दी खेती र यान्त्रीकरणको प्रयोगलाई प्रोत्साहन गरिने नगरप्रमुख लम्सालले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार