Listen LIVE

बाँकेका ग्रामीण क्षेत्रमा वस्तुसँग बस्तु साट्ने प्रचलन कायमै

यदुराज मिश्र/नेपालगञ्ज : बाँकेका ग्रामीण क्षेत्रमा वस्तुबाट बस्तु साट्ने प्रचलन कायमै रहेको छ । खास गरेर ग्रामीण क्षेत्रमा वस्तुसँग वस्तु साट्ने कार्य हुँदै आएको हो । निम्न आयस्तर भएका वा कृषक परिवारले धान, गहुँ, मुसुरो जस्ता जिन्सी बाली दिएर खुर्सानी, प्याज, आलु, सिँगडालगायतका वस्तु लिने गरेका छन् । चाडपर्वदेखि लिएर अन्य बेला यस्ता चिज खानका लागि उनीहरूले आफ्ना जिन्सी बालीले साट्दै आएका हुन् ।

ग्रामीण क्षेत्रमा वस्तु विनिमयको प्रचलन पहिल्यैदेखि रहेको डुडुवा गाउँपालिका–६, अहिलापुरका पारसनाथ सिँहले बताए । “अहिले पनि वस्तु दिएर वस्तु साटी गाउँघरमा आफ्नो आवश्यकता पूरा गर्ने प्रचलन छ,” उनले भने, “यो ग्रामीण बासिन्दाको बाध्यता हो ।”

सिँहका अनुसार विगतमा भारतीय व्यापारी गोरुगाडा (डल्लप) मा खुर्सानी, आलु लिएर गाउँ गाउँ आउने गर्दथे । अचेल बढी जसो व्यापारी साइकलमा यस्ता वस्तु लिएर पुग्ने गरेका छन् । गाउँघरका मानिससँग नगद पैसा त्यति नहुने गरेका कारण उनीहरूले आफूसँग भएको जिन्सी वस्तु दिएर आलु, खुर्सानी लिने गरेको बताइएको छ । व्यापारीले दुई पसेरी (पाँच केजी) धान लिएर एक पसेरी (अढाई केजी) खुर्सानी दिने गरेको जनाइएको छ । यसै गरी सिँगडा र आलु पनि उनीहरूले एक भाग दिँदा त्यस बराबरको दुई भाग धान लिने गर्दछन् ।

धानको सिजनमा धान र गहुँ, मुसुरोको सिजनमा गहुँ, मुसुरो दिएर स्थानीयले आफूलाई चाहिने दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका छन् । यस्तै धान, गँहुसँग आलु र फल साट्ने गरेको डुडुवा गाउँपालिका ६ का बंशीलाल मौर्यले बताए । “गाउँघरमा धान, गँहु धेरै हुन्छ,” उनले भने, “त्यही धान गँहु साटेर कागती, सिजनामा सिँगडा, तरकारी, आलु, खुर्सानीलगायतका वस्तु लिने गरिन्छ ।”

प्रतिक्रिया