Listen LIVE

राप्तीसोनारी गाउँपालिकाद्वारा किसानलाई मिनी टिलर वितरण

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले १८ जना किसानलाई मिनी टिलर वितरण गरेको छ । वडा कार्यालयको आर्थिक वर्ष २०८१–०८२ को बजेटमार्फत पावर टिलर किसानलाई वितरण गरिएको हो ।

वडा नम्वर ६ को परिसर पनेरियामा औपचारिक कार्यक्रमका बीच मिनी टिलर हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष लवराज खरेलले किसानहरुलाई मिनी टिलर हस्तान्तरण गरे । मिनी टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष खरेलले कृषिमा सुधार गर्न, कृषिमा किसानलाई जागरुक गर्न र आजको प्रविधिमैत्री युगमा जोत्न सहज होस् भनेर ५० प्रतिशत अनुदानमा १८ वटा टोल विकासलाई एक–एक वटा मिनी टिलर वितरण गरिएको बताए । 

वडाको वार्षिक बजेटबाट ७ लाख विनियोजन गरी वितरण गरिएको उनले बताए । साथै वडा अध्यक्ष खरेलले गाउँपालिकाको कृषि शाखाबाट मोटर र दुई जना किसानलाई बोरिङ समेत वितरण गरेको जानकारी दिए । हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष खरेल, वडा सचिव प्रकाश भारती, वडा सदस्यहरु लक्ष्मी थारु, पतरी परियार, राम बहादुर थारु, नर बहादुर पुन लगायत कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया