झापा : भारतीय फुलकोभी बजारमा आएपछि झापामा उत्पादन भएको फुलकोपीले उचित मूल्य नपाएपछि किसानहरू निराश भएका छन् । गतबर्ष न्यूनतम २० देखि ३० रुपैयाँसम्ममा सरदरमा बिकेको फुलकोभी यो पटक १० रुपैयाँमा समेत मुस्किलले बिकेपछि किसानहरूले लागत समेत उठाउन नपाएको गुनासो गरेका छन् ।
गतबर्ष झै मूल्य पाइन्छ भनेर फुलकोभी लगाएको तर अहिले मूल्य नपाएर बिजोग भएको झापाका अगुवा किसान रत्न भट्टराईले बताए । स्थानीय हटियाहरूमा साँझको समयमा २५ रुपैयाँमा ३ केजीसम्म फुलकोभीको बिक्री हुन थालेपछि किसानले लगाएको फुलकोभीको मूल्य पाउन छाडेका हुन् ।
दश रुपैयाँ प्रतिकेजी समेत फुलकोभी उठाउन मान्दैनन्, भट्टराईले भने । गतबर्ष खेतबाट नै २० देखि ३० रुपैयाँ प्रतिकेजी बिक्री भएको उनले बताए । हाटबजारमा कोभीको मूल्य सुन्दा हामी अचम्मित हुन्छौ, उनले भने । विषादी रहित फुलकोभी उत्पादन गर्दा लागत मूल्य नै धेरै बढी हुने भएकाले लागत मूल्य उठाउन नै मुस्किल बनेको उनको गुनासो छ ।
झापामा वार्षिकरूपमा ३ हजार हेक्टरमा ५० हजार मेट्रिक टनभन्दा बढी फुलकोभी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले तरकारी खेतीमा मल, बीउ र प्राविधिक सहयोग गरेर उत्पादनमा बढवा दिन खोजे पनि बजार सुनिश्चित गर्न नसक्दा किसानहरू निराश बन्न थालेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार