Listen LIVE

केरा नबिक्दा बर्दियाका किसान मर्कामा

बर्दिया : केरा खेतीका लागि उत्कृष्ट बन्दै गएको बर्दिया जिल्लामा बजार व्यवस्थापन नहुँदा किसानहरू मर्कामा परेका छन् । केरा खेतीमा आत्मनिर्भर बन्दै बाँके, सुर्खेत, दाङ लगायतका जिल्लामा निर्यात गर्न सक्षम बर्दिया किसानहरू हाल केराले बजार मूल्य नपाउँदा मर्कामा परेका हुन् ।

सिजन र चाडवाडको समयमा भारतीय केरा अत्याधिक आयात हुँदा नेपाली केरा बिक्न छोडेको हो । केरा बिक्न छोडेपछि किसानहरू न्यून मूल्यमा केरा बेच्न बाध्य भएका छन् । मूल्यको पर्खाइमा कतिपय कृषकको केरा बारी मै कुहिन थालेको छ । 

गत वर्ष कृषकहरूले प्रति क्रेट (१० दर्जन) चार सय ५० रुपैयाँसम्ममा केरा बिक्री गरेका थिए । यस वर्ष प्रति क्रेट तीन सय ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएका छन् । भारतीय अत्याधिक विषादी हालेको केरा सस्तो मुल्यमा बजारमा आएपछि नेपाली केरा बिक्न छाडेको केरा व्यवसायी टिका सम्सेलीले बताइन् ।

“गत वर्ष राम्रो मूल्यमा केरा बिकेको थियो यस वर्ष बढ्लाभन्दा झन् घटेको छ ।,” उनले भनिन, “यस वर्ष त मूल्य बढ्ला भनेको झन् घट्यो । अहिले बारी मै केरा पाकेर कुहिन थालेपनि व्यापारीहरू खरिद गर्न नआएको बताइन् ।”

गत वर्षको तुलनामा यस वर्ष केरा बिक्री कम भएको केरा व्यवसायी शम्भुप्रसाद अधिकारीले बताए । जेन–जीको आन्दोलनले पनि केरा खरिदबिक्रीमा समस्या बनाएको उनले बताए । दशैँ तिहारसम्म केरा बिक्री नभएमा किसानहरूको लगानी डुब्ने उनले बताए ।

बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागू भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।  वार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हँुदै आएको छ । हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् ।

बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष टोपलाल विकले बताए । आगामी मङ्सिर महिनासम्मका लागि बर्दिया कैलाली र बाँकेमा पर्याप्त केरा भए पनि भारतबाट आउँदा नबिकेको अध्यक्ष विकले बताए । केराको सिजनको समयमा भारतबाट केरा आयात गर्न रोक्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयदेखि अर्थ मन्त्रालयसम्म ज्ञापन पत्र बुझाउँदासमेत समस्या समाधान नभएको उनले बताए ।

बर्दियामा हाल केरा खेती विस्तारसँगै व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योगहरू स्थापना भएका छन् ।

प्रतिक्रिया