Listen LIVE

बजेट अभावमा सिकलसेल अस्पताल प्रयोगविहीन

बर्दिया : बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तु र रुपन्देहीमा जटिल बन्दै गइरहेको सिकलसेल एनिमियाको उपचार गर्न लुम्बिनि प्रदेशमानै पहिलो पटक निर्माण गरिएको १५ शय्याको सिकलसेल एनिमिया अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।

२०७६ सालमा तत्कालिन नगर प्रमुख दुर्गाबहादुर थारुको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौँले २० हजार जनामा स्किृनिङ गर्दा एक प्रतिशत रोगी, ११ प्रतिशत बाहक र १२ प्रतिशत सिकलसेल एनिमियाका बिरामी देखिएपछि बारबर्दिया नगरपालिकाले निर्माण सुरु गरेको सिकलसेल एनिमिया अस्पताल बजेट अभाव भएका कारण सञ्चालनमा आउन नसकेको हो ।

पूर्वाधार निर्माणका लागि नगरपालिकाले भवन तयार गरेको भए पनि भवनमा आवश्यक पर्ने जनशक्ति र उपकरणको अभवमा अस्पताल सञ्चालन हुन सकेको छैन । 

बर्दियालगायत विभिन्न तराईका जिल्लाहरुमा सिकलसेल ऐनिमिया फैलदै जाँदा बिरामीका लागि सहज उपचारका प्रदान गर्न निर्माण गरिएको अस्पताल बजेट अभावले सञ्चालन गर्न नसकिएको बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुले बताए । अहिले पनि सिकलसेल एनिमियाका बिरामीहरुलाई छुट्टै अस्पताल नहुँदा नगर अस्पताल वा सदरमुकाम गुलरिया पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको छ ।

भवन निर्माण भए पनि त्यसमा आवश्यक जनशक्ति र उपकरणका लागि ठुलो धनराशि खर्च हुने भएपछि बारबर्दिया नगरपालिकाबाट प्रदेश सरकार र सङ्घीय सरकारमा आवश्यक सहयोग गर्न अनुरोध गरिएको बारबर्दिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकानाथ गोसाईले बताए । परिवारमा आमा बुवालाई सिकलसेल देखिए छोराछारीलाई पनि त्यसको असर देखिने भएकाले पनि सिकलसेल एनिमिया जटिल बन्दै गएको छ । 

बर्दिया अस्पतालमा सिकलसेल एनिमिया परीक्षणका लागि आउने बिरामि मध्यमा १७ प्रतिशत सम्म मानिसहरुमा सिकलसेल एनिमिया देखिने गरेको बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.सुवास पाण्डेले बताए । पश्चिमि थारु समुदायमा सिकलसेल एनिमियाको प्रभाव बढी रहेको पाण्डेले बताए ।

सिकलसेल एनिमियाको छुट्टै अस्पताल नुहँदा बर्दिया जिल्ला अस्पतालबाट हाल एक सय ५० बिरामीले सेवा लिइरहेको देखिन्छ । सिकलसेल एनिमिया अनुवंशिक रक्तअल्पता हो । सिकलसेल एनिमिया भएमा शरिरले असामान्य प्रकारको हेमोग्लोबिन बनाउँछ । यो हेमोग्लोबिनका कारण रातोरक्त कोषिकाहरु सामान्य गोलो आकारको सट्टा हसिया वा चन्द्रमा जस्तो आकारमा परिणत हुने भएकाले ति कोषिकाहरु सजिलै अड्किने र रगतको बहाव रोकिदिने हुँदा त्यसपछि शरिरमा एक प्रकारको दुखाई, अङ्गमा क्षति, सङ्क्रमणको खतारा र अन्य स्वास्थ्य समस्या आउन सक्छ ।

प्रतिक्रिया