Listen LIVE

तीव्र सिकाइ योजनाको प्रभावकारी कार्यान्वयनमा जोड

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनाको कार्यान्वयन र प्रभावकारी सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गेरुवा गाउँपालिका र बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय नेतृत्वको ज्ञान, बुझाइ तथा क्षमता अभिवृद्धि गरी सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउने, सिकाइस्तर कमजोर भएका विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, शिक्षण तथा सिकाइको गुणस्तर सुधार गर्ने तथा बालबालिकाको नियमित विद्यालय उपस्थिति र विद्यालयमा निरन्तरता सुनिश्चित गर्ने रहेको थियो ।

कार्यक्रमको सहजीकरण गेरुवा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद इकाइका प्रमुख नवराज अधिकारीले गरेका थिए । उनले सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनाको प्रभावकारी कार्यान्वयनका लागि उचित योजना निर्माण, विद्यालयस्तरमा बलियो स्वामित्व, नियमित अनुगमन तथा प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

प्रत्येक बालबालिकाले आफूलाई आवश्यक पर्ने सिकाइ सहयोग प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न विद्यालय नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक मनोज पौडेलले सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनाको प्रभावकारी कार्यान्वयनले बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए ।

उनले सिकाइमा कठिनाइ भोगिरहेका बालबालिकाको समयमै पहिचान गरी उनीहरूलाई आवश्यकताअनुसार लक्षित सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए । कुनै पनि बालबालिका सिकाइको अवसरबाट पछाडि नपरोस् भन्नका लागि गुणस्तरीय शिक्षा, प्रभावकारी विद्यालय नेतृत्व र सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजना बर्दिया जिल्लाका सातवटा स्थानीय तहमा राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा सञ्चालन भइरहेको छ ।

गेरुवा गाउँपालिकामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रमले स्थानीय तह, विद्यालय, शिक्षक, समुदाय तथा विकास साझेदारबीचको सहकार्यलाई थप मजबुत बनाउँदै बालबालिकाका लागि सुरक्षित, समावेशी तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने प्रयासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

प्रतिक्रिया