Listen LIVE

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

बर्दिया : कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने गुलजार हुन थालेको छ ।

कोरोना सङ्क्रमणका कारण करिब ४ वर्ष धरासायी बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा कोरोना सङ्क्रमणको समाधानसँगै पर्यटक आउने क्रम पनि बढदै गएको छ । निकुञ्जको अवलोकनमा पर्यटकको सङ्ख्या बढ्दै जाँदा निकुञ्जले गर्ने आम्दानी समेत बढेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्कलाई हेर्ने हो भने ०७८।७९ मा नेपाली १३ हजार सार्क मुलुकका नौ सय एक र विदेशी मुलुकका दुई हजार तीन सय २२ गरी कुल १६ हजार दुई सय ९७ पर्यटकले निकुञ्जको अवलोकन गरेका छन भने आर्थिक वर्ष ०७९।८० मा नेपाली १६ हजार सात सय ७८ जना, सार्क मुलकुका एक हजार दुई सय २८ र विदेशी मुलुकका छ हजार तीन सय २४ जना गरी कुल २४ हजार तीन सय ३० जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । 

त्यसैगरी ०८०।८१ मा नेपाली १५ हजार तीन सय २४, सार्क मुलुकका एक हजार चार सय ३६ जना र विदेशी छ हजार तीन सय ८४ जना गरी कुल २५ हजार आठ सय ३१ जना पर्यटकले निकुञ्जको अवलोकन गर्दा चालु आर्थिक वर्षमा भने नेपाली १५ हजार तिन सय २४, सार्क मुलुकका एक हजार ५९ जना र विदेशी मुलुकका पाँच हजार नौ सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।

कोरोना सङ्क्रमणमा धरासायी बनेको पर्यटकिय क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन देखेर निकुञ्जकर्मी समेत उत्साहित भएका छन् । केही वर्षअघि सुनासान भएको पर्यटकिय क्षेत्र दुई तीन वर्ष यतादेखि चहलपहल बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

बर्दिया राष्टिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्न थालेपछि निकुञ्ज क्षेत्रमा होटल व्यवसाय गर्नेहरू समेत उत्साहित भएका छन् । भर्खरभर्खर होटल सञ्चालन गर्नेहरू कोरोना सङ्क्रमणका समयमा बन्द गरेर हिँड्नु पर्ने अवस्था थियो तर जसोतसो त्यो समय कटाइयो अहिले पर्यटकहरू पनि राम्रै आउने गरेका छन होटल प्याराडाइजनका सञ्चालक शङ्कर भटराईले बताए । 

सङ्क्रमणका समयमा निकुञ्जको आसपास पर्यटकसमेत देख्न समस्या हुन्थ्यो, आजभोली पर्यटक भरिएको देख्दा यस्तो दिन पनि आउँदो रहेछ भन्ने महसुस भएको ठाकुरबाबा नगरपालिका ९ का स्थानिय हरिवंश पाण्डेले बताए ।

प्रतिक्रिया