Listen LIVE

दुध उत्पादक कृषकलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी

सुर्खेत : कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८।७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न हिमाली जिल्लामा प्रतिलिटर १० रुपैयाँ र बाँकी जिल्लामा प्रतिलिटर पाँच रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटका किसानलाई १० रुपैयाँ र सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिमका किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिँदै आएको हो । 

मन्त्रालयका सूचना अधिकारी तारा बरालले पछिल्लो समय दुध उत्पादन वृद्धि हुँदै गएको र किसान पनि यस कार्यक्रमबाट लाभान्वित हुँदै गएको बताए । उनका अनुसार आव २०७८।७९ मा एक हजार पाँच सय जना दुध उत्पादक किसान लाभान्वित भएका थिए । दुई लाख ८२ हजार सात सय लिटर दुधमा २८ लाख २७ हजार भुक्तानी भएको छ ।  

यस्तै आव २०७९।८० मा तीन हजार ५३ जना किसान लाभान्वित भएका छन् । २३ लाख ५४ हजार ५६८ लिटर दुधमा अनुदान दिएको थियो । आव २०८०।८१ मा तीन हजार ७७६ जना किसान लाभन्वित भएका थिए । उक्त आवमा ३७ लाख ९१ हजार ४२९ दुध उत्पादन भएको सूचना अधिकारी बरालले बताए । चालु आव २०८१।८२ का लागि प्रदेश सरकारले एक करोड ३७ लाख आठ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया