Listen LIVE

कालीकोटमा मार्सी धानको रोपाइँ शुरु

कालीकोट : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को ज्युलामा मार्सी धान रोपाइँ शुरु भएको छ । चिल्खायाको ज्युलामा औपचारिक रूपमा मार्सी धानको रोपाइँ शुरु भएको हो । स्थानीय सरकारले एकै समयमा रोपाइँ सुरु गर्ने गरेको छ । 

परापूर्वकालमा वैशाखको १० गतेबाटै मार्सी धान रोप्ने गरिन्थ्यो । पछिल्लो समय भने हिउँदेबाली गहुँसमेत लगाउने भएकाले मार्सी रोप्न केही ढिला अर्थात् वैशाख ३० गतेबाट सुरु गर्न थालिएको छ । गहुँबाली काट्दै यता रोपाइँ चलिरहेको छ । वडा नं. ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले चिल्खायाको ज्युला खेतमा मार्सी धानको रोपाइँ शुरु भएको बताए । 

विगतमा एक बाली मार्सी धान मात्र लगाउने चिल्खायाको ज्युलामा अहिले हिउँदमा पनि केही किसानले गहुँ लगाउने गरेकाले ढिलो रोपाइँ गर्ने गरेको जनाए । प्रत्येक दिन पालो अनुसार रोपाइँ गर्ने चलन रहेको उनको भनाइ छ । 

पशुपालन व्यवसायमा केन्द्रित यहाँका किसान बर्षातको समयमा धान रोप्नकै लागि भनेर बाहिर गएका पनि घर आउने गरेका छन् । ठुलो परिवार सङ्ख्या भएकाले आफ्नै श्रम शक्ति प्रयोग गरेर रोपाइँ गर्ने प्रचलन यहाँ कायमै छ । सानो परिवारका सदस्यले छिमेकीलाई बोलाएर रोपाइँ गर्ने गर्छन् । सबैभन्दा राम्रो मार्सी उत्पादन हुने चिल्खाया ज्युलालाई स्थानीय सरकारले मार्सी ज्युलो नामाकरण गरेको छ ।

प्रतिक्रिया