बर्दिया : व्यापारीले धानको मूल्य नदिएपछि बर्दियाका किसान सस्तोमा बेच्न बाध्य भएका छन् । सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा एक हजार रुपैयाँ कम मूल्यमा किसानले धान बेच्न बाध्य छन् ।
सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४५३ रुपैयाँ तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ तोकेको छ ।
धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलाइ गरेको किसानको गुनासो छ । त्यसैको मौका छोपेर स्थानीय व्यापारीले धमाधम किसानको धान कम मूल्यमा खरिद गरिरहेका छन् । बर्दियामा किसानले प्रतिक्विन्टल दुई हजार चार सय रुपैयाँदेखि दुई हजार सात सय रुपैयाँमा मोटा धान बिक्री गरिरहेका छन् ।
धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीले धान खरिद सुरु नगर्दा किसान व्यापारीलाई कम मूल्यमा धान बेच्न बाध्य भएका हुन् । मूल्यवृद्धिका लागि समय कुर्न भण्डार गर्ने स्थान नभएको र चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले धान बेच्नु परेको किसान बताउँछन् । गुलरिया नगरपालिका–२, पण्डिपुरका लोकप्रसाद भुसालले व्यापारीले आफूले चाहे अनुसारको धानको मूल्य नदिएको बताए । उनले सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य राखेको बताए । राजापुर नगरपालिका–७, भिम्मापुरका कृषक पहारी थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद ढिला गर्दा कृषक मर्कामा परेको बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका निमित्त प्रमुख चेतमान कठायतले तिहारपछि राजापुर क्षेत्रका तीन स्थानबाट धान खरिदको सुरुवात गरिने बताए । उनले यस वर्ष एक लाख क्विन्टल धान खरिद लक्ष्य आएको बताउँदै किसानलाई आत्तिएर धान सस्तो मूल्यमा नबेच्न आग्रह गरे ।
स्थानीय व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्न थालेपछि केही वर्षयता सरकारले तोकेको समर्थन मूल्यमा बर्दियाका कृषि सहकारीले किसानको धान खरिद गर्न थालेका छन् । मधुवन नगरपालिकामा रहेको ताराताल सानाकिसान कृषि सहकारी संस्थाले केही दिनअघि नै धान खरिद गर्न थालेको छ ।
ठाकुरबाबा नगरपालिकाको सिंहवाहिनी शिवशक्ति कृषक बहुद्देश्यीय सहकारी संस्थाले सरकारको समर्थन मूल्यमा धान खरिद गरिरहेको छ । केही सहकारीले छठलगत्तै धान खरिद गर्ने बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार