Listen LIVE

आठ महिनामा दुई सय चौबिस जनाको मृत्यु

बर्दिया : बर्दियामा गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०।८१ मा बर्दियामा कुल ८० वटा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो भने ९९ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए । 

यस आवको फागुन मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने आठ महिनामा ठुला र साना गरी कुल २२६ सवारीसाधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा २२४ जनाले ज्यान गुमाएका छन् भने ३१३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

त्यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले सङ्कलन गर्ने राजस्वमा भने कमी आएको देखिन्छ । आव २०८०।८१ मा १८ हजार ८१ सवारीसाधनलाई कारबाही गर्दा कुल एक करोड १२ लाख पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको देखिन्छ । 

आव २०८१।८२ को फागुन मसान्तसम्म छ हजार एक सय सवारीसाधनलाई कारबाही गर्दा जम्मा राजस्व ४८ लाख सात हजार रुपैयाँ सङ्कलन भएको छ । जुन गत वर्षको तुलनामा निकै कम राजस्व सङ्कलन भएको हो । 

ट्राफिक प्रहरी कार्यालय बर्दियाले सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना भने गत वर्षको तुलनामा यस वर्षको आठ महिनामा निकै बढेको देखिन्छ । विगतका वर्षमा ससाना दुर्घटनाको तथ्याङ्क नराख्ने गरिएको र बिमा कम्पनीले तथ्याङ्क माग्न सुरु गरेपछि ससाना दुर्घटनाको पनि तथ्याङ्क राख्दा दुर्घटना सङ्ख्या धेरै देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी निरीक्षक सुधीर शाहीले बताए । 

बर्दिया जिल्लामा यस आवको आठ महिनामा भित्री सडकखण्डमा बढी दुर्घटना भएको र त्यसपछि हुलाकी सडकमा हुने दुर्घटनामा बढी मानिसको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा भने सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या भने कम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी कृष्ण डिसीको भनाइ छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि गत आवमा ५७९ स्थानमा र यस आवको फागुन मसान्तसम्म ३७६ स्थानमा दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया