मुगु : मुगुका किसान जौ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई जौ बाली भित्र्याउने चटारो बढेको हो ।
यस वर्ष अघिल्लो सातासम्म पानी परेर मौसम प्रतिकूल देखिएका कारण केही ढिलो गरेर जौ काट्ने काम गरिरहेको किसानले बताएका छन् ।
काट्न ढिलो गर्दा बाली अत्यधिक पाकेर जौको बाला कालो हुन थालेको छ । मौसम सफा भएपछि किसानले धमाधम जौ काट्न सुरु गरेको छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिला गाउँका किसान राजबहादुर बोहराले बताए ।
उनले गत वर्षभन्दा यस वर्ष जौबाली राम्रो भएको बताए । ‘‘गत वर्ष जौको फूल फुल्ने बेला पानी बढी परेपछि दाना कम लागेको थियो’’, उनले भने, ‘‘यो वर्ष उत्पादन राम्रो भएको छ ।’’
धेरैजसो किसानले हातैले गहुँ काट्ने काम गरिरहेका छन् । जौ भित्र्याएपछि असारको पहिलो साताबाट उक्त खाली भएको जमिनमा सिमी र फापर लगाउने गरेको किसान बोहराले बताए ।
छायाँनाथ रारा नगरपालिका वडा नं ६ वडा अध्यक्ष खेमबहादुर रावलका अनुसार यो वर्ष बजार क्षेत्रमा जौको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ छ । ग्रामीण क्षेत्रमा व्यापारीहरूले प्रतिक्विन्टल पाँच सय रुपैयाँमा जौ खरिद गरिरहेका छन् ।
मुगुका किसानका लागि कोदो पछिको दोस्रो प्रमुख बाली जौ हो । यो जिल्लामा नौं सय हेक्टर जमिनमा जौ बाली खेती हुँदैआएको कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार