नेपालगञ्ज : दसैँमा घर फर्किन नपाएका नेपाली तिहारका लागि फर्किने क्रम फेरि बढेको छ । भारतमा रोजगारी गर्न गएका नेपाली तिहार मनाउन अहिले ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । जसले गर्दा यहाँस्थित नेपाल–भारत जमुनाह नाकामा भिडभाड धेरै बढेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाले लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस अहिले नेपाल फर्किरहेकाले सिमानामा निकै चहलपहल र भिड बढेको जनाएको छ । सो कार्यालयका अनुसार तिहार सुरु भइसकेकाले अहिले दैनिक पाँच हजारभन्दा बढी नेपाली भारतबाट रोजगारी गरेर घर फर्किन सीमानाकाबाट स्वदेश फर्किरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले स्वेदश फर्किनेलाई सहजरूपमा नाका पार गरेर गन्तव्यतर्फ जाने राम्रो वातावरण बनाउन सुरक्षाकर्मीले सहयोगी भूमिका खेलिरहेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले यसअघि विगतका वर्षमा सीमानाका पारि र सिमानामै विभिन्न प्रकारका ठगी र लुटपाटमा नेपाली पर्दै आएकाले यस पटक दुवैतर्फ समन्वय गरेर कडा निगरानी बढाइएको बताए ।
उनले अहिले सल्यान, दैलेख, सुर्खेत, कालीकोट र जाजरकोटलगायतबाट रोजगारीका लागि भारत गएकाहरू क्रर्किने क्रम तीव्र रहेको बताए । भारतको सिमला, कुल्लु मनाली र हरिद्वारबाट काम गरेर उनीहरू तिहार मनाउन फर्किएको प्रहरीले जनाएको छ । सल्यानको थारमारेबाट रोजगारीका लागि भारतको सिमला पुगेर फर्किएका श्यामबहादुर थापाले दसैँमा आउने योजना बनाए पनि पैसा पाउन ढिलो हुँदा तिहारको मौका छोपेर घर फर्केको बताए । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि हरेक वर्ष सयौँ युवा भारत जाने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार