Listen LIVE

नेपालगञ्जको सुर्खेत रोडमा फुलेका फूल हेर्नेको घुईंचो

नेपालगञ्ज : नेपालगञ्ज सुर्खेत रोडमा फुलेका फूलहरु हेर्न आउने सङ्ख्या अहिले ह्वात्तै बढेको छ । राँझा एयरपोर्टदेखि गणेशमानसम्म फुलेका आर्कषक फूलहरु हेर्न युवाहरुको भीड लाग्ने गरेको छ ।

साझपख फोटो र भिडियो खिच्ने मानिसहरुको भीड लागेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यसलाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापनको काम समेत सुरु गरेको छ । व्यवसायिक रुपमा फोटोग्राफरहरु समेत त्यहाँ पुगेर मानिसहरुको फोटो खोच्न थालेपछि झन भीड बढ्न थालेको छ । साँझको समयमा त प्रहरीलाई सडक व्यवस्थापनमै अप्ठ्यारो हुन थालेपछि सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । राति अबेरसम्म पनि मानिसहरु फोटो र भिडियो खिच्नका लागि आउने थालेपछि प्रहरीले त्यसलाई नियन्त्रण गर्न थालेको हो ।

सडकको मध्यभागमा फुलेका आर्कषक फूलहरुका कारण पछिल्लो समय नेपालगञ्ज चर्चामा छ । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जको मुख्य सडक सुर्खेत रोडमा फुलहरुलाई गोडमेल, तारजाली लगाएर संरक्षण गरिरहेको छ । जसका कारण नेपालगन्जको मुख्य सडकमै निकै सुन्दर फूलहरु अहिले फुलेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले ट्राफिक र नगर प्रहरीहरुको सहयोगमा साझपख ट्राफिक व्यवस्थापनको काम गरिरहेको बताए ।

युवाहरु धेरै सडकमा जम्मा भएर फोटो र भिडियो खिच्न थालेपछि दुर्घटनाको सम्भावना बढेको भन्दै व्यवस्थापनको काम सुरु गरेको नगरप्रमुख विष्टले बताए । केहि दिन अघि नेपालगञ्जमा भाइरल बनेको फुलहरु हेर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल समेत पुगेका थिए ।

नेपालगञ्ज उपमहानगरले गरेको उत्कृष्ट कार्यमा पर्ने गरेको नगरभित्रको फुल व्यवस्थापन । नेपालगञ्ज नगरमा फुलको विरुवा रोप्ने, गोडमेल गर्ने, संरक्षण गर्ने कार्यमा यहाँका निजी संघसंस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि सहयोग गर्दै आएका छन् । जसले गर्दा नेपालगञ्जमा मुख्य सडकमा मनमोहक सुन्दर फूलहरुसँगै अन्य विरुवाहरु उर्कदै गएका छन् । 

सुर्खेतरोडमा फुलेका फूलहरुले धेरैलाई आर्कषित गरेपछि अहिले स्थानीयस्तरमा नेपालगञ्ज नगरका अन्य ठाउँहरुमा पनि यस्तै गरी फुलहरु रोप्दै संरक्षणको काम अगाडि बढाउनु पर्ने माग बढेको छ ।

प्रतिक्रिया