Listen LIVE

तरकारी सङ्कलन केन्द्र निर्माण भएपछि किसानलाई सहज

दाङ : तरकारी खेती व्यवसायमा आवद्ध किसानाई बिक्री गर्नका लागि सहजता प्रदान गर्ने उद्देश्यले दंगीशरण गाउँपालिका–३ चखौरामा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको छ । बजारदेखि टाढा रहेका किसानलाई उत्पादन गरेको तरकारी बिक्रीका लागि सहजता प्रदान गर्ने गरि पाँच लाख ९८ हजार तीन सय ३२ रुपैयाँको लागतमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको हो । 

दंगीशरण गाउँपलिकासँगै युकेएडको आर्थिक सहयोग र प्रेक्टिकल एक्सन डिकोसको सहजीकरणमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको चखौरा कृषि उपज सङ्कलन केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र चौधरीले बताए । 

अध्यक्ष चौधरीका अनुसार तरकारी सङ्कलन केन्द्र निर्माण भएपछि दंगीशरण गाउँपालिकाका २, ३, ५ र ६ नम्वरका किसानलाई तरकारी बिक्री लागि सहजता भएको छ । गाउँमा उत्पादन भएको तरकारी बिक्रीका लागि तुलसीपुर बजारसम्म लैजानुपर्ने बाध्यता किसानलाई हटेको भन्दै अध्यक्ष चौधरीले भने, “उत्पादन भएको तरकारी किसानले सङ्कलन केन्द्रसम्म ल्याउने र यहाँबाट व्यवसायीले लैजाने गरेका छन् ।“ हरेक दिन बिहान किसानले उत्पादन गरेका तरकारी संकलन केन्द्रमा लैजाने र त्यहीबाट व्यवसायीले तरकारी किनेर लग्ने गरेको उनले बताए । 

दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले तरकारी सङ्कलन केन्द्रले किसानलाई तरकारी बिक्री वितरणमा सहजता ल्याएको बताए । तरकारी सङ्कलन केन्द्र नहुँदा एक छिट्वा तरकारी बिक्री गर्नका लागि करिव १० किलो मिटर टाढाको तुलसीपुर बजारसम्म जानुपर्ने बाध्यता हटेको उनले बताए । गाउँपालिका अध्यक्ष गिरीले भने, “तरकारी सङ्कलन केन्द्र नहुँदा किसान आफै तुलसीपुरसम्म गएर तरकारी बिक्री गर्नुपर्ने बाध्यता थियो । तरकारी सङ्कलन केन्द्र स्थापना भएपछि अहिले त्यो बाध्यता हटेको छ । जसले गर्दा किसानलाई समयको बचतसँगै बिक्रीमा सहजता भएको छ ।“ 

तरकारी खेतीतर्फ किसानलाई व्यावसायिक रूपमा जोड्दै उत्पादनमा वृद्धि गर्नेगरी गाउँपालिका लागेको भन्दै अध्यक्ष गिरीले तरकारी सङ्कलन केन्द्रले त्यसमा सहयोग गर्ने बताए । 

तरकारी सङ्कलन केन्द्रबाट एक सय ७९ घरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । समन्नुती परियोजनाले किसानको सहजताका लागि तरकारी सङ्कलन केन्द्रलाई ६० थान क्यारेट र डिजिटल काँटा समेत सहयोग गरेको छ ।

प्रतिक्रिया