डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिकरुपमा अघि बढेको छ । गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो ।
पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पर्यटकीय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि पर्यटनसँग जोडेर विभिन्न परियोजना सञ्चालन गरिएको छ ।
डुडुवामा अधिराज्यकै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अफ शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरणअन्तर्गत वाउण्ड्री वाल निमार्ण गर्न शिलान्यास गरिएको छ ।
एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गर्दै डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौदेखिको योजना कार्यन्वयनमा आएको बताए । उनले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको ऐलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गर्न लागिएको बताए ।
करिब २७ विगाह जग्गामा बृहत्तररुपमा पर्यटन क्षेत्रको दिर्घकालिन प्रोजेक्ट सञ्चानल गरि कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताए । वडा नंं. २ मा पर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडाध्यक्ष दुर्गाप्रसाद बर्माले बताए । वडाध्यक्ष बर्माले भने,–‘यस वडामा धार्मिक हिसाबले मठ मन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, वगर क्षेत्र, सिमा नाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिने छ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ’ ।
गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत रु १ करोड ४ लाख ६१ हजार ६ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दिपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्रकुमार बर्माले बताए । उनका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म वाउण्ड्री वाल निर्माणको काम सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार