Listen LIVE

कृषि पेसाबाट मासिक डेढ लाख आम्दानी गर्दै थारु

नेपालगञ्ज : नेपालमै कृषि पेसा गरेर मासिक ठुलो रकम आम्दानी गर्न सकिन्छ, पैसा कमाउन विदेशै जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ बाँके कोहलपुर नगरपालिका–६ का निवर्तमान वडा अध्यक्ष रामशरण थारु । 

उनले कोहलपुर ६ मा कृषि पेसा गरेर मासिक डेढ लाख रुपैयाँ कमाएका छन् । थारुले व्यावसायिक भैंसीपालन, माछा, कुखुरा र बङ्गुरपालनका साथै मकै, प्याज र करेलाको खेती समेत गरेर मासिक डेढ लाख बढी आम्दानी गरिरहेका छन् । 

आफ्नै देशमा केही गर्ने चाहना हुनेलाई पैसाको कुनै कमी नहुने र विदेशमा गएर हण्डर समेत खानु नपर्ने थारुले बताए । 

उनले स्वदेशकै माटोमा अलि मन लगाएर मिहिनेत गरी काम गर्ने हो भने प्रशस्तै पैसा कमाउन सकिने बताए । राजनीतिसँगै कृषि पेसामा लागेका थारुको अधिकांश समय भैँसीको स्याहारसुसार र हेरचाहमा बित्ने गरेको छ । उनले पशुतर्फ व्यावसायिक भैँसीपालन गर्नुभएको छ भने सोही फार्ममा माछा, कुखुरा र बङ्गुरपालन पनि गरेका छन् । 

सोही प्रकारले मकै, प्याज र करेलाको खेती पनि उनले गरेका छन् । बिहान, बेलुका गोबर सोहोर्नेदेखि घाँस काट्ने र दूध दुहुनुमा नै उनको समय बित्ने गरेको छ । उनको कृषि फार्ममा हाल साना ठुला गरी ८ वटा भैँसी, माछा, कुखुरा र बङ्गुर रहेका छन् । 

करिब २ बिघा ८ कठ्ठा जमिन भाडामा लिएर गरिएको तरकारी खेती, भैँसी, बङ्गुर, कुखुरा र माछा पालनबाट सोचेभन्दा राम्रै आम्दानी भइरहेको छ । थारुका अनुसार मासिक करिब ८०० देखि एक हजार लिटर दूध बिक्री गरी एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । 

त्यो सँगै कुखुरा, माछा, बङ्गुरबाट गरेर मासिक डेढ लाख जति आम्दानी भइरहेको उनको भनाइ छ । नेपालमा राजनीति गर्ने र राजनीति गरेका मान्छेले सानातिना काम गर्न हुँदैन भन्ने गलत भाष्य निर्माण हुँदै गएका बेला अरूले पनि थारुबाट केही सिक्नु पर्ने देखिन्छ । 

२०७६ साल मङ्सिर १४ गते भएको उपनिर्वाचनबाट कोहलपुर –६ को वडाध्यक्षमा निर्वाचित भएका थारुले त्योभन्दा पहिला र अहिले वडा अध्यक्ष नहुँदा पनि कृषि व्यवसाय गर्दै आएका छन् । उनले कृषि पेसालाई निरन्तरता दिने जनाउँदै अन्य युवालाई पनि यो पेसा अँगाल्न आग्रह गरे ।  

राजनीति पेसा नभएर सेवा भएकाले सो सँगै आर्थिक जीवनस्तर उकास्न र अरूका लागि समेत उदाहरणीय बन्नका लागि आफू व्यावसायिक कृषि तथा पशुपालनमा लागेको उनको भनाइ छ । (गोरखापत्रबाट)

प्रतिक्रिया