नेपालगञ्ज : बाँकेको हिरमिनियाका जयपाल मौर्य आलु खेतीमा रमाएका छन्। जिल्लाको आलु पकेट क्षेत्र मानिने हिरमिनियामा मौर्य धेरै आलु खेती गर्ने किसानमा पर्छन्।
गतवर्ष ९० कठ्ठामा आलु खेती गरेका मौर्यले यसपाली एक सय एक कठ्ठामा आलु लगाएका छन्। ९० कठ्ठामा आलु लगाउदा ७ सय २० क्वीन्टल फलेको थियो। मौर्यले १९ लाखको आलु बेचे। बीउ, पानी, मल, मजदुरको खर्च कटाएर मौर्यले १३ लाख आम्दानी गरेका थिए।
यसपाली ११ कठ्ठा थपेर एक सय एक आलु लगाएका छन्। प्रतिकठ्ठा ८ देखि ९ क्वीन्टल फल्ने मौर्यको आकलन रहेको छ।
धेरै जग्गामा आलु खेती गर्ने किसानको पहिचान बनाएका मौर्यले आलु लगाउने र खन्ने मेसिन खरिद गरेका छन्। यतिबेला मौर्य मेसिनले निकाल्ने र मजदुर लगाएर आलु टिप्न व्यस्त छन्। आलु खन्ने मेसिन प्रयोग गर्दा मजदुरको काम टिप्ने मात्रै भएको छ।
डुडुवा गाउँपालिका वडा नम्बर ६ मा पर्ने हिरमिनियासँगै भङ्घोट्ना, कालाबन्जार, चौधरीपूर्वा, मुन्सीपूर्वाका एक सय ५० बढी घरधुरीले आलु खेती गर्ने गर्दछन्। यहाँ दुई कठ्ठादेखि एक सय एक कठ्ठामा आलु खेती गर्ने किसान छन्। मौर्यले आलुको बीउ उत्पादन गर्छन्। उत्पादित आलु कोल्डस्टोरमा राखेर अन्यत्र जिल्लासमेत पठाउँछन्। केही जिल्लामै बेच्छन्।
हिरमिनियामा आलुसँगै अन्य तरकारी खेती पनि हुन्छ। साना किसानले उत्पादन गरेका आलु र तरकारी नेपालगञ्ज ल्याएर बेच्ने गरिन्छ। खेतमै बोरिङ गाडेर पानीको सुविधा पुर्याएका किसानले आलुलगायत तरकारी खेती गरेर आम्दानी गरिरहेका छन्। भारतीय सीमासँग जोडिएको हिरमिनियाका किसानले भारतबाट आउने आलुसँग नै प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेको छ।
यतिबेला हिरमिनियाका किसान आलु निकाल्नमा व्यस्त छन्। थोरै जग्गामा आलु लगाएका किसानले पनि जोतेर आलु निकालिरहेका छन्। उत्पादित आलु ५ किलोको ८० रुपैयाँमा बेचिरहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार